१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

वैदेशिक रोजगारीमा रहेका वडाध्यक्षले दिए राजीनामा

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन्।

गाउँपालिका अध्यक्ष मार्फत जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङलाई पत्र मार्फत जानकारी दिँदै उनले शारीरिक अस्वस्थता र घरायसी कारणले विदेशबाट फर्कन नसक्ने जनाउँदै राजीनामा दिएका हुन्।

वैदेशिक रोजगारीको क्रममा बोखिम विगत ११ महिनादेखि हङकङमा छन्। उनले वडाध्यक्षको जिम्मेवारी कार्यवाहकलाई सुम्पेर बसेका थिए। अस्वस्थताका कारण तत्काल घर फर्कन नसक्ने अवस्थामा पुगेको भन्दै उनले यही असोज १८ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

उनले जनताको सेवा पूरा अवधि गर्न नसकेकोमा दुःख प्रकट गरेका छन्। २०८० साल कात्तिक २४ गतेदेखि वडा कार्यालयमा अनुपस्थित रहेका बोखिमको खोजीका लागि स्थानीय ७ जनाले गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए। बोखिमको अनुपस्थितिमा वडा सदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गरिरहेका छन्।

स्थानीयले बोखिमलाई जनताबीच उपस्थित भएर काम गर्न वा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए।

वडाध्यक्ष दिलप्रसाद बोखिमको राजीनामा पत्र।

प्रकाशित: १५ आश्विन २०८१ २०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App