१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

हवाई भाडा नियन्त्रण गर्न समितिको निर्देशन

सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध

फाइल तस्बिर

राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिका सभापति रामहरि खतिवडाले आइतबार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए ।  

'यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ', निर्देशनमा भनिएको छ, 'तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।'

देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोकोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन् ।  

हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरुले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो ।  

'एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ', प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।'

प्रकाशित: १३ आश्विन २०८१ १७:१२ आइतबार

#Ramhari Khatiwada #Rajya Byawastha Samiti