८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोशी सरकारले मन्त्रीहरूको संयोजकत्वमा गठन गर्‍यो समिति

कोशी प्रदेश सरकारले सरकारका कामलाई प्रभवकारी बनाउन मन्त्रीहरूको संयोजकत्वमा विषयगत समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समिति , आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ।

त्यस्तै खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा र साउदी फण्ड फर डेभलपमेन्टको सह लगानीबाट कोशी प्रदेशमा सिँचाइ आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यो परियोजना अन्तर्गत कोशी प्रदेशमा करिब २७ वटा सिँचाइ आयोजनाहरू सञ्चालन हुनेछन्।

त्यस्तै खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्त्रगतकै जलवायु अनुकूलित वृहत् खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ।

कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका १० औँ र ११ औँ तहका कर्मचारीको सरुवा गरेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डा। वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरिएको छ।

त्यस्तै १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरिएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यस्तै  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्ष देखि जनतासँग कोशी प्रदेश सरकार नाममा सञ्चालन गर्ने निर्णय गरेको छ।  

प्रकाशित: ८ आश्विन २०८१ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App