३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

रविलाई विश्वप्रकाशको प्रश्न: प्रतिवेदनले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनलाई गलत व्याख्या नगर्न आग्रह गरेका छन्।

शर्माले प्रतिवेदनलाई ‘क्लिन चिट’ भनेर भ्रम नछर्नु भन्दै ‘क्लियर चिट’ को वास्तविकता बुझ्न अपिल गरे।

मंगलबार एक्स (ट्विटर) मार्फत एक पोस्ट गर्दै शर्माले प्रतिवेदनको सुस्पष्ट निर्णय पढ्न आग्रह गरे। उनले लेखेका छन् ‘प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं बरु ‘क्लियर चिट’ किटान गरेको छ प्रतिवेदनले चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै।’

संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ।

समितिका सभापति सूर्य थापाले सोमबार सभामुख देवराज घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनको सुझाव तथा सिफारिस खण्डमा सहकारीको रकम अपचलनमा रविको भूमिका देखिएको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ : ‘‍‍‍सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।’

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले समितिको प्रतिवेदन अनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको बताएका थिए।

यसैगरी, पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाएको बताएका थिए।

सोही कुरालाई लिएर नेपाली कांग्रेसका महामन्त्री शर्माले यस्तो स्ट्याटस लेखेका हुन्।

प्रकाशित: १ आश्विन २०८१ १८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App