३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

वर्तमान सरकारलाई काम गर्न नदिने गरी घेराबन्दीको प्रयास भइरहेको छ : शंकर पोखरेल

क्याप्शन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमि अधिकारका दृष्टीले अबका तीन वर्ष महत्वपूर्ण हुने बताएका छन् ।  

भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको स्थापना दिवस तथा प्रथम केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भूमि अधिकारसम्बन्धी समस्या समाधानका लागि सार्थक प्रयत्न अगाडि बढिरहेको बताए ।  

एमाले भूमि समस्यालाई समाधान गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट गर्दै महासचिव पोखरेलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि भूमि आयोग गठन गर्ने आधार तयार भएको बताए । एमालेले विगतमा पनि बेला बेलामा भूमि समस्या समाधानका लागि काम गर्न खोज्ने तर कानुनी जटिलता सिर्जना हुने, अदालतले काम रोकिदिने तीतो अनुभव पनि रहेको उनको भनाइ थियो ।  

महासचिव पोखरेलले भूमि आयोग गठन गरी भूमि अधिकारसम्बन्धी समस्याको समाधान एकपटकका लागि भनेकाले अब गठन हुने आयोग अन्तिम हुनेहुँदा भूमिहीन, सुकुम्वासीहरू कोही पनि अबको अन्तिम अवसरबाट बन्चित भयौं भन्ने अवस्था आउन नहुने बताए ।  

उनले भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालका पदाधिकारी तथा सदस्यहरूलाई भूमिहीन, सुकुम्वासीका बस्तीमा गई सबैलाई प्रक्रियामा सामेल गराउन अगुवाई गर्न निर्देश गर्दै त्यसो गरियो भने मात्र सार्थक परिणाम प्राप्त हुने बताए ।  

महासचिव पोखरेलले दुई ठुला पार्टी मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको वर्तमान सरकारलाई काम गर्न नदिने गरी घेराबन्दीको प्रयास भइरहेको बताउँदै भूमि अधिकारको विषयलाई अगाडि बढाउने र समाधान गर्ने सन्दर्भमा पनि काममा प्रभाव पार्ने गतिविधि हुनसक्ने हुँदा त्यस्ता गतिविधिमा नलाग्न सचेत गराए ।

वर्तमान सरकारको प्रभावकारितासँग भूमिहीनहरूको भविष्य जोडिएको बताउँदै महासचिव पोखरेलले भने, 'जुन समुदायका लागि राज्यले काम गर्न खोज्दै छ, त्यो सरकारप्रति सकारात्मक बन्नुपर्छ ।'

प्रकाशित: ३१ भाद्र २०८१ १५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App