३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘राष्ट्रसंघको महासभामा जाँदा देशको शिर ढल्ने कुनै काम गर्दिनँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट पारेका छन्।

महासभामा उठाइने विषयमा आज (सोमबार) प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने बताए।

उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्नेबारे सभालाई जानकारी गराए।

“विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरु जे छन् र हाम्रो प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसङ्घमा राखिनेछ।’’, प्रधानमन्त्री ओलीले भने, “नेपाल असल छिमेकी सम्बन्ध राख्न चाहन्छ। छुद्र र जाली छिमेकी होइन। हामी पनि छिमेकीप्रति त्यस्तै व्यवहार गर्छौँ। छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोच हुनेछ।’’

प्रधानमन्त्री ओलीले आफूहरूले देश र जनताको लागि राजनीतिक गर्ने तथा आजका लागि र त्यो भन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले महासभामा ‘फ्युचर समिट’ मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको सुनाए।

उनले अमेरिकामा रहँदा न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोष्टर्नस्थित हार्बर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने स्पष्ट पारे।

प्रकाशित: ३१ भाद्र २०८१ १५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App