१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले निषेधित क्षेत्रमै थाले सत्याग्रह

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्नुपर्ने, शैलाजा आचार्य ह्दयरोग उपचार केन्द्र सञ्चालनमा ल्याउनुपर्ने लगायतका विभिन्न माग राखी सत्याग्रह सुरू गरेका छन्।

पूर्व मुख्यमन्त्री कार्कीले आफ्नो सरकारको पालामा ल्याइएका जनपक्षिय कार्यक्रमहरूलाई निरन्तरता दिन माग गर्दै मंगलबारदेखि प्रदेशसभा भवन अगाडि सत्याग्रह सुरू गरेका हुन्।

कार्कीले सत्याग्रह सुरू गर्दै आफुले उठाएका माग पुरा नभएसम्म सत्याग्रह नतोड्ने बताएका छन्। कार्कीले सत्याग्रह सुरू गर्नुभन्दा एक घण्टा पहिलेदेखि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

मंगलबार दिउँसो ३ बजेदेखि जिल्ला प्रशासन कार्यालयले विराटनगरको प्रदेशसभा भवन नजिकको देशकोटा चोक देखि अस्पताल चोक सम्मको भागलाई निषेधित क्षेत्र तोकेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय भएको डाँफे चोक पूर्वको भाग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडषेश चोक देखि जतुवा चोक सम्मको क्षेत्र, मुख्यमन्त्री निवास  आसपास ३ सय मिटर क्षेत्र र प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३ सय मिटर क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।

निषेधित क्षेत्रमा सभा, जुलुस, धर्ना,¥याली लगायतका निषेधित गतिविधि गर्न अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाएको छ।

प्रशासनले रोक लगाए पनि पूर्व मन्त्री कार्कीले निषेधित क्षेत्रमै सत्याग्रह सुरु गरेका छन्। कार्कीले प्रदेशसभा भवन अगाडि पट्टी सत्याग्रह सुरू गरेका छन्। उनीसँगै नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता तथा समर्थकहरू सहभागी भएका छन्।

प्रकाशित: २५ भाद्र २०८१ १७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App