गण्डकी प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि बस्ने भएको छ।
गत असार २६ गते बैठक बसेर स्थगित गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गतेका लागि बोलाइएको हो। गण्डकी प्रदेश सभा सचिवालयले भदौ २६ गतेका लागि बैठक बोलाइएको जनाएको छ।
गत असार २६ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो। त्यसपश्चात् बैठक बस्न सकेको थिएन। तर अहिले गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सामेल भएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैठक बोलाउन सचिवालयलाई भनेका हुन्।
यसअघि गण्डकीमा सरकारको जोड घटाउको रस्साकस्सीका कारण संसद् प्राथमिकतामा परेको थिएन। जसले संसदीय गतिविधि प्रायः शून्य बनेको थियो।
संसद् बैठक मात्र नभई मिनी संसद् भनेर चिनिने संसदीय समितिहरुपनि निष्क्रियजस्तै थिए। उनीहरुले पनि यस बिचमा बैठक राख्न सकेका थिएनन्।
प्रदेश सभामा हाल बिजनाषक विषादी व्यवस्थापन सम्बन्धमा बनेको विधेयक, साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्म सम्बन्धमा बनेको विधेयक गरेर संसद्मा ३ वटा विधेयक विचाराधीन अवस्थामा छन्।
जसमध्ये बिजनाषक विषादी व्यवस्थापन सम्बन्धमा बनेको विधेयक सामान्य छलफलपछि दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ।
आगामी संसद् बैठकमा सोही विधेयकबारे छलफल हुनेछ।
प्रकाशित: २० भाद्र २०८१ १६:३३ बिहीबार