३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनयुद्धविरुद्ध बोल्नु संविधानविपरीत अभिव्यक्ति: दाहाल

फाइल।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी विद्रोहलाई अपव्याख्या गर्नु संविधानविपरीत अभिव्यक्ति भएको बताउँदै त्यस्तो अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन्।

सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरे।

‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्षका रुपमा सम्बोधन गरेको छ,’ अध्यक्ष दाहालले भने, ‘संविधानको व्याख्यात्मक टिप्पणीमा सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ।’

व्याख्यात्मक टिप्पणीमा सबै दलहरुले हस्ताक्षर गरेर सबैले स्वीकारेको पनि उनले दाबी गरे। ‘तर अहिले कतिपय दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्। संविधानविपरीत बोल्ने छुट कसैलाई पनि छैन,’ अध्यक्ष दाहालले भने।

उनले संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजान कार्यकर्तालाई निर्देशन दिए।  

संघर्षका सहिदलाई सम्मान गर्न पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष दाहालले बताए। उनले भने, ‘पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकाले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको छ।’ यो कुरा सबैका लागि खुसी र गर्वको विषय रहेको पनि उनले दाबी गरे।

यस्तै शान्ति प्रक्रिया टुंग्याउने क्रममा फागुन १ गतेलाई जनयुद्ध दिवस राष्ट्रिय दिवसका रूपमा मनाउने कुरा स्थापित गर्ने पनि अध्यक्ष दाहालले बताए।

प्रकाशित: २० भाद्र २०८१ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App