१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

खुलामञ्चमा युवाहरूले विरोध जनाउनु शुभ सङ्केत होइन: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले जनाएको विरोध शुभ सङ्केत नभएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरूको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताए । उनले सरकारले विरोध गर्ने युवाहरूलाई पक्रेर दमन गर्न नसक्ने बताए । उनले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने , ‘एनसेल एउटा दुहुनो गाई छ केही वर्षका लागि । एनसेललाई किस्ताबन्दीमा कर तिर्ने सुविधा दिइसक्यो । किन त्यस्तो हुन्छ होला ? किन यहाँ मात्रै व्यापारीहरू कर तिर्न अप्ठ्यारो मान्छन् ? किन यहाँ मात्रै ती व्यापारीहरू विवादमा पर्छन् । एक्जियाटा कम्पनीको व्यापार मलेसिया, कम्बोडिया लगायत थुप्रै देशमा छन्। तर त्यहाँ नेपालमा जस्तो कर सम्बन्धी विवाद आउँदैन । यहाँ मात्रै किन विवाद आउँछ ? अस्ति भर्खरै खुल्ला मञ्चमा केही युवाहरूले विरोध जनाए । त्यसलाई सरकारले सकारात्मक रुपमा लिनुपर्नेछ । अथवा हामीले सुध्रिनुपर्ने थुप्रै कुराहरू रहेछन् भनेर त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने ठाउँमा त्यहाँ सरकारको तर्फबाट जुन किसिमको आक्रोश देखियो । पछिल्लो दिनमा जुन प्रकारका धर कपटका प्रयासहरू भए, म सरकारमा रहनुभएका सबैलाई भन्न चाहन्छु, सरकारको नेतृत्वलाई भन्न चाहन्छु, यो शुभ सङ्केत होइन । यसलाई तपाईँले पक्रेर र कुनै मञ्चमा ठुलो स्वरले बोलेर दमन गरेर जान सक्नुहुन्न । यो जनताको आवाजलाई स्वीकार गर्नुस् कि अहिले जनताले सरकारको, अथवा अहिलेको व्यवस्थामा चित्त बुझाइराखेका छैनन् । र जनता विकल्प खोजिराखेका छन् भन्ने कुरालाई गम्भीरतापूर्वक लिनुस् र आफूलाई सच्याउनुस् । विगतका गलत क्रियाकलापहरू नदोहोर्‍याउनुस् ।’ 

उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसंग माग पनि गरे । 

प्रकाशित: १८ भाद्र २०८१ १७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App