नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बचाउनुपर्यो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रस्ताव आएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बजगाईंले यस्तो दाबी गरेका छन्।
‘क्यान (प्राधिकरण) का विषयमा आज यहाँ छलफल हुँदैछ। करिब १३ जना प्रतिपक्षी दलका माननीयजीले सार्वजनिक महत्वको प्रस्ताव यहाँ दर्ता गराउनुभएको छ,’ बजगाईंले भने, ‘यसै पार्टीका एक जना सहमहामन्त्री हतारिएर म कहाँ आउनुभयो क्यानका डिजीको बारेमा। उहाँ हाम्रो मान्छे, हाम्रो क्षेत्रको मान्छे, रवि लामिछानेजीको क्षेत्रको मान्छे, उहाँलाई जोगाउनुप¥यो भनेर म कहाँ आउनुभयो। पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो।’
सो विषय उल्लेख गर्दै सांसद बजगाईंले प्रश्न गरे,‘म यहाँ प्रश्न गर्न चाहन्छु, यो द्वैध चरित्रले देश कहाँ पुग्छ रु’ नयाँ पार्टीसँग आशा र जनताको भरोसा छ भनिएको अवस्थामा यस्तो द्वैध चरित्र नयाँ पार्टीबाट हुन्छ भन्ने कल्पना आफूले कहिल्यै नगरेको सांसद बजगाईंले दाबी गरे।
‘म यो विषयमा आमजनता र यो संसदको ध्यान आकृष्ट गर्न चाहन्छु,’ सांसद बजगाईंले भने।
रास्वपाको कुन सह–महामन्त्री आफूकहाँ आए त्यो भने सांसद बजगाईंले खुलाएनन् । रास्वपामा तीन जना सहमहामन्त्री छन्। जसमा कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिनकुमार आचार्य छन्।
प्रकाशित: १३ भाद्र २०८१ १३:३५ बिहीबार