उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताएका छन्।
सोमवार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्रमा सार्वजनिक निकायबाट भएका हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताएका हुन्।
उनले नागरिकले सूचना माग गरेको अवस्थामा प्रत्येक सार्वजनिक निकाय र कार्यरत पदाधिकारीले तत्कालै उपलब्ध गराउन सक्नुपर्ने बताए। उनले सूचनाको हकलाई विश्वभर सर्वसाधारण नागरिकका लागि आवश्यक अधिकारका रुपमा स्वीकार गरिएको उल्लेख गरे।
उनले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले थप सजगता र सक्रियता साथ प्रयास गर्नुपर्नेमा जोड दिए। उपराष्ट्रपति यादवले सूचनाको हकले सरकारी काम, कारबाहीहरुलाई पारदर्शी बनाउने पनि बताए।
सूचनाको हकले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउँदै भ्रष्टाचार र अनियमिततालाई कम गर्न पनि सघाउने उनले बताए।
प्रकाशित: ३ भाद्र २०८१ १७:१३ सोमबार