१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणसँगै अधिवेशन अन्त्यको तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा निस्कनुअघि संघीय संसद्लाई सम्बोधन गर्ने भएका छन् । ओली चैत २३ गते भारत जाँदैछन्। उनले संसद्लाई सम्बोधन गरी भारत भ्रमणमा जानुको जानकारी गराउने छन्। प्रधानमन्त्रीको सम्बोधनलगत्तै संसद् अधिवेशन अन्त्य गर्ने तयारी छ।

अधिवेशन सुरु भएको झन्डै एक महिनासम्म एउटा पनि विधेयक दर्ता नभएपछि सदन औपचारिकतामा मात्रै सीमित हुँदै आएको छ। सदनलाई बिजनेस दिन नसकेपछि सरकार छिट्टै अधिवेशन अन्त्य  गर्ने तयारीमा जुटेको हो। 

सरकार सम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री २३ गते भारततर्फ लाग्ने भएकाले उनले २२ गतेभित्र संसद्लाई सम्बोधन गर्ने तयारी छ। सरकारले अब पनि बिजनेस नदिने हो भने औपचारिकताका लागि पनि बैठक बोलाउन नसकिने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए। ‘बिजनेस नपाए २२ गतेभित्रै संसद् अधिवेशन अन्त्य गरिनेछ,’ उनले भने।

संसद्को अब बस्ने बैठकमा चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशलाई स्वीकृतिका लागि प्रस्ताव गर्ने कार्यसूची बनाइएको छ।  यसबाहेक संसद्को बैठकको कार्यसूचीमा राख्ने अन्य कुनै विषय नभएको सचिवालयले जानकारी दियो। 

सरकारले पनि तत्काले कुनै पनि विधेयक संसद्मा लैजाने योजना बनाएको छैन। सरकारका सामु तत्काल ५० विधेयक संसद्मा लैजानुपर्ने बाध्यता नै छ भने अघिल्लो संसद्मा निष्क्रिय बनेका १९ विधेयक पनि पुनः संसद्मा प्रवेश गराउनुपर्ने अवस्था छ।

फागुन २१ गते संसद् अधिवेशन सुरु भएपछि बसेका बैठक केवल औपचारिकतामा मात्र सीमित छन्। २६ गते प्रतिनिधिसभा सभामुखको निर्वाचन भयो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन ३० गते भयो। प्रतिनिधिसभा उपसभामुखको निर्वाचन चैत २ गते र राष्ट्रियसभा  उपाध्यक्षको निर्वाचन ४ गते भयो। फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ओलीले २७ गते विश्वासको मत लिएका थिए। 
राष्ट्रियसभा बैठकले राष्ट्रियसभा नियमावली मस्यौदा र प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेपछि समितिको काम अघि बढेको  छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई चैत १५ गते सम्बोधन गरिन्। राष्ट्रपतिको सम्बोधनप्रति चैत १६ गते बसेका प्रतिनिधिसभा र राष्ट्रियसभाका अलगअलग बैठकबाट धन्यवाद प्रस्ताव पारित भयोे। सोही दिन दुवै सभामा राष्ट्रिय चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश प्रस्तुत गरिएको छ। सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश संसद्बाट स्वीकृत भए। सोही दिन दुवै सभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडालो मुलुकको आर्थिक गतिविधिको जानकारी गराए।

संसद्को अर्को बैठक १९ गते बोलाइएको छ। त्यस दिन बस्ने बैठक पूर्वसांसद् खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ। १९ गते दोस्रो बैठक बसे १६ गते प्रस्तुत दुई अध्यादेशलाई स्वीकृतका लागि पेस गरिने छ। सरकारको तयारी अनुसार २०, २१ र २२ गते बैठक बोलाएर अधिवेशन अन्त्य गरिनेछ।

प्रकाशित: १८ चैत्र २०७४ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App