२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

बृहत् वामपन्थी एकता जरुरी छ, एकपल्ट बिग्रियो सधैं बिग्रिन्न: दाहाल

फाइल।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बृहत् वामपन्थी एकीकरणका लागि पनि तीव्र र घनिभूत पहलकदमी आवश्यक भएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन्।

बैठकमा अध्यक्ष दाहालले बोलेको कुरा उद्धृत गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले यो विषयमा समाजवादी मोर्चामा भएका शक्तिहरूसँग कुराकानी भइरहेको पनि बताए।

‘समाजवादी मोर्चामा भएका शक्तिहरूसँग नि कुराकानी भइरहेको छ। एकीकृत समाजवादी पार्टी, त्यसको नेता माधव नेपालजीसित । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (सी) महासचिव नेत्रविक्रम चन्द, यता गंगानारायण श्रेष्ठहरू, महेन्द्रराय यादवसित पनि कुराकानी भइरहेको छ,’ दाहालको भनाई उद्धृत गर्दै सापकोटाले भने,‘त्यतिमात्र होइन अब बृहत् वामपन्थी एकीकरणका लागि पनि तीव्र र घनिभूत पहलकदमी लिनपर्छ।’

यस्तै देशभक्त, जनवादी र गतिशील शक्तिहरूको मोर्चा बनाउनुपर्ने कुरा दाहालले उठाएको उनले बताए। ‘यसका लागि हामीले निकै जोड दिएर पहल कदमी लिनपर्छ भन्नुभाछ,’ सापकोटाले भने।

यस्तै अध्यक्ष दाहालले जनता बृहत् वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको बताएको सापकोटाले बताए। ‘एकपल्ट बिग्रियो भनेर सधैंका लागि बिग्रिन होइन। बृहत् वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरू आउँदै गर्दा खासखास नेताहरू आउनुपर्छ,’ उनले भने।

अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य रहेको उनले बताए।

प्रकाशित: २६ श्रावण २०८१ १९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App