२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

हवाई टिकटमा हुने पद र पहुँचको दुरुपयोग तत्काल रोक्नुपर्छ: सचेतक बराल

सत्तारुढ नेकपा (एमाले) की सचेतक सुनिता बरालले हवाई टिकटमा पद र पहुँचको दुरुपयोग गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेकी छिन्।

हवाई यातायातका लागि पद र पहुँचको दुरुपयोग हुँदा सर्वसाधारणले टिकट नपाउने दुःखद् अवस्था रहेको उल्लेख गर्दै उनले त्यस्तो अवस्थाको अन्त्य हुनेगरी आवश्यक व्यवस्था मिलाउने काममा सरकारले ढिलाइ गर्न नहुने बताइन्।

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सचेतक बरालले विभिन्न जिल्लाहरुको सडक सञ्जाल मर्मतको काममा पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइन्।

दसैं, तिहारजस्ता चाडपर्व आउन लागेकाले सरकारले सर्वसाधारणले सार्वजनिक यातायातबाट सहज ढंगले घर जान पाउने गरी सडक मर्मतको काम गर्नुपर्नेमा जोड दिइन्।

सचेतक बरालले भनिन्, ‘चाँडबाड आउने क्रम सुरु भएकाले विभिन्न जिल्लाहरुमा जाने सडक मर्मत गर्ने कामलाई तीव्रता  दिन जरुरी छ। हवाई यातायातमा असाध्यै धेरै अनियमितता हुन्छ भन्ने कुराको व्यापक गुनासो छ। पद र पहुँचको दुरुपयोग गर्ने र सर्वसाधारण जनताले टिकट नै नपाउने यो असाध्यै धेरै दुःखद् अवस्था छ। यो अवस्थाको अन्त्यका लागि सबै टिकट बिक्री गर्ने कामलाई सिष्टममा राख्ने र टिकट खोजिएको अवसरमा नियमित प्रक्रियाबाट उपलब्ध हुनेगरी प्रबन्ध मिलाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।’

सचेतक बरालले सर्वसाधारणले सार्वजनिक यातायातमा धेरै दुःख पाउने गरेकोतर्फ पनि सरकारलाई सचेत गराइन्।

प्रकाशित: २१ श्रावण २०८१ १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App