२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुलीमा सिमेन्ट उद्योग खोल्न पहल गर्छु: मन्त्री तामाङ

बागमती प्रदेशकी उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले सिन्धुलीमा एउटा सिमेन्ट उद्योग खोल्न पहल गर्ने बताएकी छन्।

सिन्धुली-काठमाडौं सम्पर्क मञ्चले आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन्।

सिन्धुलीको दुधौलीमा ढुंगाखानी रहेकाले त्यहाँ सिमेन्ट कारखाना खोल्न सहज हुने उनकाे धारणा थियाे। उनले उद्योग खोल्न सके धेरै रोजगारी सिर्जना हुने आशा व्यक्त गर्दै, आफू विज्ञ नभए पनि विज्ञहरूसँग सुझाव लिएर काम गर्ने प्रतिबद्धता जनाइन्।

साथै छिट्टै एउटा विज्ञ टोली निर्माण गर्ने योजना पनि सार्वजनिक गरिन्। मन्त्री भएपछि उनले जिल्लाका हरेक सरकारी कार्यालयमा हस्तकलाका सामान प्रयोग गर्ने निर्णय गरेको सुनाइन्।

‘घरेलु उद्योग प्रवर्द्धनमा टेवा पुग्ने गरी काम गर्नुपर्छ भनेर यो निर्णय गरेकी हुँ,’ उनले भनिन्। साथै, जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रमाणपत्र नेपालमै बनेको कागजमा प्रिन्ट गर्ने योजना पनि आफूले बनाएकाे बताइन्। ‘केही दिनमा प्रधानमन्त्रीसँग भेट्दा यो प्रस्ताव राख्नेछु,’ उनले भनिन्, ‘यो खालि एउटा प्रदेशको मात्र नभएर सिंगो देशको सवाल हो।’

उनले उद्योग–वाणिज्य क्षेत्रमा देखिएका विकृति हटाउने, सेवाग्राहीले सरकारी सेवा लिने क्रममा भोगेका समस्या समाधान गर्ने, र कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती हटाउने प्रतिबद्धता जनाइन्।

भूमिमा देखिएका समस्याहरू समाधान गर्न विज्ञहरूसँग परामर्श गरी संघसँग समन्वय गर्ने उनको योजना थियाे। ‘भूमिसम्बन्धी समस्या हल गर्न नीतिगत कठिनाइ हटाउने विषयमा विज्ञसँग छलफल गरिन्छ,’ उनले भनिन्, ‘संघीय सरकार र स्थानीय सरकारसँग पनि समन्वय गरिनेछ।’

कृषिमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नेमा पनि उनले विशेष ध्यान दिने बताइन्। ‘कुरा कम काम बढी गरेर श्रम संस्कृति सिकाउन लाग्नेछु,’ उनले भनिन्, ‘म सांसद भए पनि श्रम गरिरहें। बुंगुर, भैंसी पालेकी छु, बेचेर पैसा कमाएँ। आलु, प्याज बेचेर पनि कमाएँ। यसपालि फूल पनि रोपेकी छु।’

सिन्धुलीकी शुकमाया नेकपा एमालेबाट बागमती प्रदेशसभाकी समानुपातिक सदस्य हुन्। 

प्रकाशित: २० श्रावण २०८१ २१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App