३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजदूत सिफारिसमा विज्ञताभन्दा पार्टी निकटलाई प्राथमिकता

विभिन्न १८ देशमा सिफारिस गरिएका राजदूतहरूमा अधिकांश विज्ञभन्दा पनि पार्टीका कार्यकर्ता रहेको पाइएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।

सिफारिस गरिएका राजदूतहरूमा अधिकांश नेपाली कांग्रेस र एमालेनिकट छन्। एक जना रिता धिताल मात्र परराष्ट्र मन्त्रालयमा कार्यरत कर्मचारीको तर्फबाट सिफारिस भएकी छन्। उनी परराष्ट्रकी सहसचिव हुन्। सरकारले उनलाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको छ।

भारतका लागि सिफारिस गरिएका डा. शंकरप्रसाद शर्मा नेपाली कांग्रेसको कोटाबाट अवसर पाएका हुन्। कांग्रेसको कोटाबाट यसअघि उनी राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्ष भइसकेका छन्। यसअघि पनि उनी भारतका लागि राजदूतमा कार्यरत थिए।

गत फागुनमा सरकारमा सहभागी दलहरूको गठबन्धन फेरिएपछि तत्कालीन सरकारले उनलाई भारतबाट फिर्ता बोलाएको थियो र उनको ठाउँमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको थियो। उक्त सिफारिस संसदीय सुनुवाइ समितिमा जानुअघि नै सरकारमा गठबन्धन फेरियो र निर्णय कार्यान्वयन भए। मन्त्रिपरिषद् निर्णय संसद् सचिवालयमा दर्ता नै भएन।

यसैगरी अस्ट्रेलियामा सिफारिस गरिएका कान्ता रिजाल नेपाली कांग्रेसनिकट हुन्। उनी कांग्रेसकी नेतृ पनि हुन्। पाँचथर स्थायी ठेगाना भएकी रिजाल कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। साउदी अरबियामा सिफारिस भएका नरेशविक्रम ढकाल एमालेसँग निकट मानिन्छन्। यसअघि पनि उनी एमालेको सिफारिसमा राजदूत भइसकेका छन्।

दक्षिण अफ्रिकामा सिफारिस भएका प्राध्यापक डा. कपिलमान श्रेष्ठ यसअघि नेपाली कांग्रेसनिकट नेपाल प्राध्यापक संघको अध्यक्ष थिए। यसैगरी उनी नेपाल मानव अधिकार संगठनको पूर्वअध्यक्ष पनि हुन्। स्पेनका लागि सिफारिस भएका सनिल नेपाल कांग्रेसनिकट मानिन्छन्। कांग्रेसभित्र पनि उनी डा. शशांक कोइरालानिकट मानिन्छन्। यसअघि उनी पोर्चुगलको राजदूतमा नियुक्ति भएका थिए। तर उनी पोर्चुगल जान नपाउँदै उनलाई फिर्ता बोलाइएको थियो।

इजरायलको राजदूतमा सिफारिस भएका धनप्रसाद पण्डित कांग्रेसनिकट मानिन्छन्। उनी कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका हुन्।

जर्मनीका लागि सिफारिस डा. शैल रूपाखेतीको परराष्ट्रमन्त्री डा. आरजू देउवा र कांग्रेस सभापति शेरबहादुर देउवासँग पारिवारिक निकटता छ। उनी देउवा परिवारका निजी चिकित्सक पनि हुन्। अमेरिका सिफारिस गरिएका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी एमालेको कोटाबाट अवसर पाएका हुन्। यसअघि उनी बेलायतको राजदूत भइसकेका छन्।

संयुक्त अधिराज्यमा सिफारिस भएका चन्द्रकुमार घिमिरे पूर्ववाणिज्य सचिव हुन्। एमालेको कोटाबाट उनले अवसर पाएका हुन्। दक्षिण कोरियाका लागि सिफारिस भएकी डा. शिवमाया तुम्बाहाङ्फे पूर्वउपसभामुख तथा पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन्। उनी एमाले नेतृ पनि हुन्।

अर्घाखाची स्थायी ठेगाना भएका जंगबहादुर चौहान एमालेको सिफारिसमा रुसका लागि राजदूतमा सिफारिस भएका हुन्। चीनका लागि सिफारिस भएका प्राध्यापक डा. कृष्णप्रसाद ओली प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन्। झापा घर भएका ओलीले यसअघि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको पदाधिकारीको रूपमा पनि काम गरिसकेका छन्। डेनमार्कका लागि सिफारिस सुम्निमा तुलाधर बामपन्थी नेता पद्मरत्न तुलाधरीकी छोरी हुन्। उनी एनजिओकर्मी पनि हुन्। एमालेको कोटाबाट उनी राजदूतमा सिफारिस भएकी हुन्।

मलेसियाका लागि सिफारिस भएका नेत्रप्रसाद तिमल्सिना रेडक्रसको पूर्वअध्यक्ष, गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष पनि हुन्। उनी एमालेको कोटाबाट सिफारिस भएका हुन्। यसैगरी पोर्चुगलमा प्रकाशमणि पौडेल र रामकृष्ण भट्टराई श्रीलंकाका लागि राजदूतमा सिफारिस भएका छन्।

यसअघि गत असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। तत्कालीन सरकारले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, बेलायतका लागि डा. विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। तीमध्ये दक्षिण कोरियाका लागि सिफारिस गरिएका सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेको जानकारी गराएका थिए। उक्त निर्णय कार्यान्वयन हुनुअघि नै सरकारमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबनधन बनेको थियो। त्यसपछि उक्त निर्णय कार्यान्वयन भएन।

राजदूत सिफारिससम्बन्धी कार्यविधिमा कर्मचारीको तर्फबाट र राजनीतिक तहबाट बराबरी सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर सिफारिस गरिएकाहरूमा राजनीतिक भागबन्डाबाट बढी हावी हुने गरेका छन्।

प्रकाशित: १७ श्रावण २०८१ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App