२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनीमा सरकार गठनका आज अन्तिम दिन, एमालेका गिरीले दाबी पेश गर्दै

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन रहेको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आज अपराह्न ६ः३० बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।

यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री जोखबहादुर महराले आइतवारको प्रदेश सभा बैठकमा राजीनामा दिएका थिए।

गत असार १७ मा नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ राजनीतिक समीकरण निर्माण भएपछि माओवादी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ। यस प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतवार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिए। कांग्रेससँगको नयाँ समीकरण निर्माण भएपछि सरकारमा सहभागी नेकपा एमाले सरकारबाट बाहिरिएपछि माओवादी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। असार २० मा २७ सांसद रहेको एमालेले साथ छाडेपछि महरा अल्पमतमा परेका थिए।

यसैगरी अशोक राई नेतृत्वको जसपा र नागरिक उन्मुक्तिले समेत साथ छाडेपछि महराको पक्षमा मत झन् कमजोर बनेको थियो। लुम्बिनी प्रदेशमा जसपाका २ र उन्मुक्तिका ४ सांसद छन्। एमाले, जसपा र उन्मुक्तिभन्दा अघि नै एक सांसद रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका एक सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका थिए। जसपा नेपालका सांसद अम्बिका आफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकी थिइन्।

४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका माओवादीका महरासँग नयाँ राजनीतिक समीकरण निर्माण भएयता १२ सांसदको समर्थनमा सीमित बनेका थिए। 

तत्कालीन डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार ढलेपछि एमालेसहित साना दलहरूको समर्थनमा माओवादीका महरा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई त्यतिबेला ८६ सदस्यीय प्रदेशसभामा ४८ सांसदको समर्थन थियो। माओवादीलाई सरकारको नेतृत्वमा समर्थन जनाएको एमाले पाँच मन्त्रालयसहित सरकारमा सहभागी भएको थियो, तर माओवादीसँगको गठबन्धन भाँडिएर कांग्रेससँग नयाँ समीकरण निर्माण भएपछि माओवादीलाई एमालेले साथ छाडेको थियो। यो अवस्थामा मुख्यमन्त्री महराको सत्ता नेतृत्व यात्रा धर्मराएको थियो।

मुख्यमन्त्री महराले राजीनामा दिएपछि नयाँ सरकार निर्माणार्थ कांग्रेस र एमालेलाई बाटो खुलेको छ। यी दुवै दलले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गरिदिन मुख्यमन्त्री महरालाई राजीनामा दिन आग्रह गर्दै आएका थिए।

मुख्यमन्त्री महराले पदबाट राजीनामा दिएपछि नयाँ राजनीतिक समीकरण निर्माण गरेका कांग्रेस र एमालेले आज नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्ने भएका छन्। यो प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ। यो दलबाट संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीका लागि प्रस्ताव हुनेछन्।

कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले एमाले नेतृत्वमा नयाँ सरकार गठन हुने र एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिने जानकारी दिए। ‘आज दिउँसो एक बजे नयाँ मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भन्ने निर्णय भएको छ’, कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले भने।

एमाले संसदीय दलका नेता गिरीले पनि आज गठबन्धनका तर्फबाट नयाँ मुख्यमन्त्री दाबी पेस हुने बताए।

नयाँ समीकरण निर्माण गरेका दलहरूले संविधानको धारा १६८(२) अन्तर्गत नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन्। दुई वा दुईभन्दा बढी दलको संयुक्त सरकार निर्माणका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका दलहरूले बहुमत सांसदहरूको हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

प्रकाशित: ७ श्रावण २०८१ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App