१६ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस र लोसपा एकसाथ मधेश सरकारमा सहभागी

मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकसाथ सहभागी भएका छन्। बिहीबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

कांग्रेसका चार र लोसपाका एक जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। कांग्रेसको तर्फबाट रौतहटका सुनिल कुमार यादव अर्थमन्त्री, धनुषाका शेषनरायाण उर्जा, सिचाई तथा खानेपानी मन्त्री, पर्साका जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री, र कौशकिशोर राय श्रम तथा यातायात मन्त्री बनेका छन्।

लोसपाको तर्फबाट महोत्तरीकी रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालयकाे जिम्मेवारी सम्हाल्ने भएकी छिन्।

असार २२ गते जनमत पार्टीका नेतृत्वमा मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिने क्रममा कांग्रेसलाई अर्थसहित चार मन्त्रालय दिने सहमति भएको थियो।

तर, मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय कांग्रेसलाई दिन नमिल्ने बताएपछि कांग्रेसले पनि सरकारमा सहभागी नहुने अडान लिएको थियो। मुख्यमन्त्री सिंह सम्झौताबाट पछि हटेको भन्दै कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएपछि जनमत पार्टीले अर्थ मन्त्रालय कांग्रेसलाई दिएको हो।

संघीय सरकारमा गठबन्धन फेरिएपछि प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरूलाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए। यी रिक्त चार मन्त्रालय कांग्रेसले पाएकाे हाे

शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पठाएर लोसपाकी तिवारीलाई शिक्षा मन्त्री बनाइएको छ।

लोसपाले दुई मन्त्रालयको माग गरे पनि मुख्यमन्त्री सिंहले तत्काल एउटा मन्त्रालय दिएर थप कुराकानी गर्ने भन्दै लोसपालाई सरकारमा सहभागी गराएका हुन्।

मुख्यमन्त्री सिंहलाई जनमतका १३, एमालेका २४, कांग्रेसका २२ र लोसपाका ८ गरी ६७ सांसदको समर्थन रहेको छ। मधेश प्रदेशमा कुल १०७ सदस्य छन्, बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। विपक्षमा जसपा नेपालका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

प्रकाशित: ३ श्रावण २०८१ २०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App