२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
कला

निर्दोष व्यक्तिमाथि सदैव अन्याय-अत्याचार हुन्छ!

मुक्तक

१) मुक्तक

दिन सबैको आउँछ यहाँ दुख मर्छ तर सुख मरेको छैन

किन आत्तिन्छौ दुख सबैलाई पर्छ कसलाई परेको छैन

अरूका लागि केही काम गर्नेले कहिले पनि फुर्ती गर्दैन

तिमी फुर्ती गर्छौ तर कसैका लागि केही पनि गरेको छैन।

२) मुक्तक

बजारमै हाेहल्ला गर्दै थियो उसले रक्सी पिएको हुनुपर्छ

मान्छे चिन्नै छोडिसक्यो आँखामा धुलो परेको हुन सक्छ

दुख परेको बेला कसैले सहयोग गरेन उ गुनासो गरिरहन्छ

सहयोग पाउनलाई त आफूले पनि सहयोग गरेको हुनुपर्छ।

३) मुक्तक

निर्दोष व्यक्तिमाथि सदैव अन्याय अत्यचार हुन्छ

सत्य कुरा लुकाई झुटा कुराको प्रचारप्रसार हुन्छ

मेरो समाजका मान्छेहरूभन्दा धेरै फरक भएको छु

र त कसैको विचारसँग नमिल्ने मेरो विचार हुन्छ।

४) मुक्तक

करोडौं सहयोग गरेको छ तर चोरी लगेको आरोप लाग्छ

बैङ्क लुटेको आरोप लाग्छ सहकारी ठगेको आरोप लाग्छ

उ खुल्ला दिसामुक्त गरौँ भन्दै हिंडिरहेको अभियन्ता हो

बिडम्बना आज उसैलाई बाटोमा हगेको आरोप लाग्छ।

५) मुक्तक

कसैको धनसम्पत्ति चोरेर ठगेर खाएको मन पर्दैन

मलाई पनि त भ्रष्टाचारीहरूले न्याय पाएको मन पर्दैन

सके दोषीलाई कार्वाही गर्नु नसके निर्दोषलाई नसताउनु

हे सरकार मलाई निर्दोष मान्छे फसाएको मन पर्दैन।

६) मुक्तक

भ्रष्टाचार घुसखोरी अधिक छ दुख लाग्छ

कानुन पनि पैसामा बिक्छ दुख लाग्छ

न्यायालयले पनि साँचो कुरा सुनिदिंदैन

झुटो कुरा लामो समय टिक्छ दुख लाग्छ।

७) मुक्तक

आरोप खेपेको छु मुद्दा चलेको छ

नखाएको विष मलाई लागेको छ

षड्यन्त्रको जालमा परे हिरासतमा

हिजोआज यो मन धेरै रोएको छ।

८) मुक्तक

अझै आश मरेको छैन न्याय पाउनेछु

जनताको सामु छिट्टै फर्की आउने छु

एकपटक भए पनि म सत्तामा पुगे भने

एकएक भ्रष्टहरूलाई जेल पठाउनेछु।

९) मुक्तक

कत्ति छाएन खुसीको वहार खल्लो भयो

वर्ष दिनको ठुलो काजबार खल्लो भयो

न गलामा माला पाए न निधारमा टीका

म प्रदेशी अभागीको तिहार खल्लो भयो।

१०) मुक्तक

दिदीबहिनीबाट भाइटिका लाउन पाएन

घरपरिवार साथीभाइसँग रमाउन पाएन

मेरै बाटो हेरी घरमा दिदीहरू बसेको थिए

आउँछु-आउँछु भनेकै हो घर आउन पाएन।

-पारस भट्ट प्यासी  

प्रकाशित: २० कार्तिक २०८१ १२:५२ मंगलबार