२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौंका बासिन्दालाई वर्षभरि मेलम्चीको खानेपानी: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौं उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना–२ बारे जानकारी लिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन्।

उनले भने, “हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत् भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ। यसका लागि म प्रतिबद्ध छु।”

मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिएका थिए।

उनले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्यानमा राखी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको जानकारी दिए।

उनले स्थानीय सरकारसँग समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा छलफल भएको उल्लेख गरे।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका विषयमा प्राप्त गुनासोले आफू गम्भीर रहेको बताउँदै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

“म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो”, उनले भने, “मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौंका बासिन्दालाई खानेपानी पुर्‍याएर देखाउनुपर्छ।”

प्रकाशित: ३ श्रावण २०८१ १८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App