२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

अल्पमतमा लुम्बिनी सरकार: मौन छन् मुख्यमन्त्री महरा

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादी नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परिसकेको छ।

४८ सांसदको समर्थनमा मुख्यमन्त्री जोखबहादुर महराको पक्षमा अब १९ सांसद मात्रै कायम भएका छन्। माओवादीका (सभामुख सहित) ११, नेकपा एकीकृत समाजवादीका १, नागरिक उन्मुक्तिका ४, स्वतन्त्र एक र अशोक राई नेतृत्वको जसपाका २ सांसद मुख्यमन्त्रीको पक्षमा छन्।

त्यसो त, सङ्घीय सरकारबाट बाहिरिएको अशोक राई नेतृत्वको जसपा प्रदेश सरकारबाट पनि बाहिरिने तयारीमा छ। यो पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको अवस्थामा मुख्यमन्त्री महराको पक्षमा १७ मत मात्रै कायम हुनेछ।

यो पार्टीबाट सरकारमा रहेका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले अहिलेसम्म सरकारका बारेमा निर्णय नलिइएको र केही दिनमै निष्कर्षमा पुग्ने बताए।

‘पानी परेका कारण म अहिले बाँकेमै छु, अहिले यातायात सेवा अस्तव्यस्त भएर म राजधानी पुग्न सकेको छैन,’ मन्त्री अहिरले भने ‘केही दिनमै म राजधानी पुगेँ भने के गर्ने भन्ने थाहा हुन्छ।’

बहुमतका लागि लुम्बिनी प्रदेशमा ४४ मत आवश्यक पर्छ। आफ्नो नेतृत्वको सरकार अल्पमतमा परिसकेको भएपनि मुख्यमन्त्री महरा भने अबको आफ्नो कदमका बारेमा मौनता साँधिरहेका छन्।

संसद्‌मा विश्वासको मत फेस गर्ने वा राजीनामा दिएर सरकारबाट बिदाइ हुने भन्नेमा उनी अनिर्णीत देखिएका छन्। ‘अहिले सम्म उहाँ ( मुख्यमन्त्री) बाट के गर्ने भन्ने विषयमा ठोस कुरा आएको छैन,’ माअ‍ोवादीका एक सांसदले भने ‘मलाई लाग्छ, उहाँले संसद्‌मा विश्वासको मत फेस गर्नु हुन्छ।’

मुख्यमन्त्री महराले २८ असारको अवस्थालाई हेरेर निर्णय लिने पनि एकथरीको बुझाई छ। प्रधानमन्त्री पुष्पकमल दाहालले २८ असारमा विश्वासको मतको फेस गर्ने भएका कारण मुख्यमन्त्री महरा पनि सोही अनुसार निर्णय लिने पक्षमा रहेको बुझाई दलहरुको छ।

‘२८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र उक्त दिनको परिणाम अनुसार प्रदेशका मुख्यमन्त्री जी ले पनि निर्णय लिने मनसाय राखेको हामीले बुझेका छौँ,’ एमाले संसदीय दलका नेता लीला गिरीले भने ‘आफ्नो नेतृत्वको सरकार नटिक्ने परिस्थिति बनिसकेका कारण उहाँको नेतृत्व गुम्ने त स्वाभाविकै कुरा भइहाल्यो।’

मुख्यमन्त्री महरालाई अल्पमतमा परिसकेका कारण नयाँ सरकार गठनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन एमालेले आग्रह समेत गरिरहेको छ। तर महराले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा ठोस जवाफ भने दिएका छैनन्।

‘मैले मुख्यमन्त्री जी लाई अब तपाईं अल्पमतमा पर्नुभयो, नयाँ सरकार गठनका लागि राजीनामा दिएर बाटो सहज गरिदिनुस् भनेर भनेको छु,’ एमाले संसदीय दलका नेता गिरीले भने ‘उहाँ पनि सरकारबाट बाहिरिने भन्नेमा त ढुक्कै हुनुहुन्छ, तर राजीनामा दिएर बाहिरिने वा विश्वासको मत लिने भन्ने विषयमा ठोस कुरा केही खोल्नु भएको छैन।’

यता एमालेसँगको नयाँ सत्ता समीकरण निर्माण गरेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री महराको राजीनामा कुरेर बसेको छ। कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुख्यमन्त्री महराले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिनु पर्ने बताउँछन्।

सभापति पुनसंग पनि महराको यस विषयमा केही दिन अघि कुराकानी भएको थियो। तर महराले उनीसँग पनि राजीनामा दिने वा विश्वासको मतको फेस गर्ने भन्ने विषयमा ठोस जवाफ दिएनन्।

‘अब तपाईं अल्पमतमा पर्नुभयो, नैतिकता प्रस्तुत गरेर राजीनामा दिनुस् भनेर मैले उहाँ ( मुख्यमन्त्री) लाई भनेको हुँ,’ सभापति पुनले भने ‘तर उहाँले म सँग पनि राजीनामा दिने वा विश्वासको मतको फेस गर्ने भन्ने यकिन जवाफ दिनु भएन, तर मलाई लाग्छ उहाँले आफै राजीनामा दिनु हुने छ।’

सभापति पुनले पनि मुख्यमन्त्री महराले असार २८ को परिस्थिति लाई हेरेर निर्णयमा पुग्ने बताए। ‘असार २८ लाई कुरेर अहिले उहाँ (मुख्यमन्त्री) मौन हुनुहुन्छ,’ सभापति पुनले भने ‘२८ पछि उहाँले बाटो खुल्ला गरिदिनु हुने छ भन्ने मलाइ लागेको छ।’

त्यसो त, मुख्यमन्त्री महराले विश्वासको मत लिने निर्णयमा पुगेको खण्डमा साउन ९ भित्र विश्वासको मत लिनु पर्ने कांग्रेस एमालेको दाबी छ।

९ असारमा जसपा नेपालका सांसद् अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक रुपमा साउन ९ भित्रमा विश्वासको मत लिनु पर्ने दाबी यी दुई दलको छ।

तर माओवादीले भने एमालेले समर्थन फिर्ता लिएको मिति देखि एक महिना भित्रमा विश्वासको मत लिन सक्ने दाबी गर्छ।

प्रकाशित: २३ असार २०८१ १८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App