१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री

लन्डनको डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयअगाडि नवनियुक्त प्रधानमन्त्री कियर स्टार्मर पत्नी भिक्टोरियाका साथ। तस्बिर: एएफपी

बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ। ६ सय ५० सदस्यीय बेलायती ससद्मा लेबर पार्टीले चार सय १२ सिटमा विजय गरेपछि पार्टी नेता कियर स्टार्मर प्रधानमन्त्री बनेका छन्। बेलायतमा सरकार बनाउन तीन सय २६ सांसदको समर्थन चाहिन्छ। बेलायतमा बिहीबार भएको संसदीय निर्वाचनको परिणाम शुक्रबार आएको हो।

निवर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले १२१ सिटमा मात्र जित निकालेको छ। बिबिसीका अनुसार कन्जरभेटिभ पार्टीको इतिहासमा यो सबैभन्दा नराम्रो हार हो। लेबर पार्टीले सन् १९९७ मा जस्तै यसपटक पनि प्रचण्ड विजय हासिल गरेको बिबिसीले जनाएको छ।

चुनाबी नतिजासँगै लेबर पार्टीका नेता स्टार्मर प्रधानमन्त्री भएका हुन्। उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएपछिको पहिलो सम्बोधनमा उनले आफू नेतृत्वको सरकार ‘सेवाको सरकार’ हुने र विभिन्न क्षेत्रमा परिवर्तन तत्काल सुरु गरिने बताएका छन्। अर्थतन्त्रमा सुधार पनि सरकारको प्राथमिकता हुने उनले बताएका छन्।

कन्जरभेटिभ पार्टीका नेता एवं निवर्तमान प्रधानमन्त्री सुनकले निर्वाचनमा हार स्वीकार गर्दै लेबर पार्टीका नेता स्टार्मरलाई विजयका लागि बधाई दिएका छन्। ४४ वर्षीय सुनक सन् २०२२ को अक्टोबरमा प्रधानमन्त्री बनेका थिए। उनका आमाबाबु भारतीय मूलका हुन्। उनी बेलायतको पहिलो गैरश्वेत तथा एसियाली मूलका प्रधानमन्त्री हुन्।

सन् २०१९ को निर्वाचनमा कन्जरभेटिभ पार्टीले ६ सय ५० सदस्यीय संसद्मा तीन सय ६४ सिटमा जित हासिल गरेपछि बोरिस जोन्सन प्रधानमन्त्री बनेका थिए। विभिन्न विवादका कारण उनले राजीनाम दिएपछि सोही पार्टीबाट लिज ट्रस प्रधानमन्त्री बनिन्।

उनले पनि गिर्दाे अर्थव्यवस्थालाई सुधार्न नसकेपछि कन्जरभेटिभ पार्टीकै सुनक प्रधानमन्त्री भएका हुन्। सन् २०१९ को निर्वाचनमा लेबर पार्टीले संसद्का दुई सय तीन सिटमा मात्र विजय हासिल गरेको थियो। त्यतिबेला लेबर पार्टीले धेरै परम्परागत सिट गुमाएको थियो।

सन् १९९७ मा भएको संसदीय निर्वाचनमा लेबर पार्टीले चार सय १९ सिटमा विजय निकालेको थियो। त्यतिबेला लेबर पार्टीका नेता टोनी ब्लेयर थिए। त्यस्तै त्यसबेला कन्जरभेटिभ पार्टी एक सय ६५ सिटमा मात्र विजयी भएको थियो। त्यस्तै सन् २००५ मा भएको संसदीय निर्वाचनमा लेबर पार्टीले तीन सय ४६ सिट जितेको थियो। त्यसबेला संसद् ६ सय ४६ सदस्यीय थियो। (एजेन्सीहरूको सहयोगमा)

प्रकाशित: २२ असार २०८१ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App