१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ, स्थानीय र निजी क्षेत्रको समन्वय र सहकार्यमा प्रदेश लगानी सम्मेलन सफल बनाउने तयारी भइरहेको बताएका छन्।

कोशी प्रदेश लगानी सम्मेलन मूल आयोजक समितिको शुक्रबार विराटनगरमा  बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।

मुख्यमन्त्री कार्कीले समृद्धिका लागि सबैले सङ्कल्प गरे लगानी सम्मेलन सफल हुने स्पष्ट पारे। उनले कानुनी जटिलताहरुलाई सहजीकरण गर्नका लागि संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रदेश लगानी सम्मेलनको तयारीका लागि योजनाहरु बनाउने, परियोजनाहरुको तयारी गर्ने र त्यसलाई लगानीकर्तामाझ पुर्‍याउने योजना ल्याउने गरी बैठकले तयारी गरेको छ।

कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मूल आयोजक समिति गठन गरेको हो। यसमा प्रदेशका मन्त्रीहरु, निजी क्षेत्रका अगुवाहरु र संघसंस्थालाई समेटिएको छ।

कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मूल आयोजक समिति बनाएको छ।

त्यस्तै दसैं अघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ।

प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरुले स्वदेशी लगानीकर्तासँगै भारतीय उद्योगपतिहरुलाई आकर्षित गर्ने गरी योजना बनाउन सुझाव दिएका छन्। कोशी सरकारले आगामी माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने घोषणा गरेको छ।

प्रकाशित: १८ आश्विन २०८१ २१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App