१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

‘जबसम्म शिक्षामन्त्री छु गुन्डागर्दी सहिन्न, दलीय राजनीतीकरण हटाएरै छाड्ने हो’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतीकरण हटाएरै छाड्ने बताएकी छिन्।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने दाबी गरेकी हुन्।

उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने जिकिर गरिन्। दलीय राजनीतिका कारण  त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपरेको उनले गुनासाे गरिन्।

उनले भनिन् ‘टियुमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो। त्यो विज्ञापन गर्न पाइँदैनन् भनेर फेरी अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ। धम्की दिएछ। प्रहरीहरू राखेर अन्तर्वार्ता गर्नुपर्ने। प्रहरीहरू राखेर गर्नुपर्ने काम छ।  शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप। गुण्डागर्दीहरुको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन। तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु। तर गुन्डागर्दी सहिन्न। र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो। जसरी भएपनि छोड्ने हो।’

मन्त्री श्रेष्ठले एसइई परीक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन्। उनले एसइईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको उल्लेख गरिन्।

‘एसइईको नतिजामा शिक्षा मन्त्रालयले मात्रै होइन सिङ्गो समाजले आक्रोशित हुनुपर्छ। ग्लानी महसुस गर्नुपर्छ। अर्को वर्ष यसको प्रतिशत कति हुन्छ भन्दा पनि यसमा अब हामीले गर्नुपर्ने सुधारका कामहरु के–के हुन् ? यसमा हामीले ध्यान दिनुपर्छ। संरचनागत सुधारका काम गर्नुपर्छ।’ उनले भनिन्।

मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीहरूको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने बताइन्।

प्रकाशित: १७ असार २०८१ १५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App