१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

दुई पटक बयान दिएको मान्छे फरार अभियुक्त, गृहमन्त्रीको जवाफ माग

विवादित ‘द डार्क फाइल’ प्रकरणमा मुद्दा दर्ता हुँदा दुई जना फरार सूचीमा राखेको विषय संसद्मा उठेको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यो विषय उठाएका हुन्। 

‘१४ गते काठमाडौं जिल्ला सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा एउटा चर्चित द डार्क फाइल भन्ने मुद्दा प्रस्तुत भएको छ। यो मुद्दामा ३ जना अभियुक्त बनाइएको छ, राजकुमार तिमल्सिना, युवराज कँडेल र नवीन ढुङ्गाना,’ सांसद खतिवडाले भने, ‘ती मध्ये दुई जना मान्छे सिआइबीमा सम्पर्कमा भएनन्। तर राजकुमार तिमल्सिनालाई दुईचोटी बयान लिएर नेपाल प्रहरीको सिआइबीले फरार अभियुक्तका रूपमा अदालतमा पेश गरिएको छ।’

कुनै बेला ६० केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिएका चलाउने भन्ने मान्छेको नाममा मुद्दा चलाउँदा खेरी तत्कालीन एआइजीलाई कारबाहीको प्रस्तावसम्म गरिएको सांसद खतिवडाले उल्लेख गरे। ‘तर अहिले बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा, किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेस गरियो ? यो आपत्तिजनक छ कसको निर्देशनमा भयो यसको जवाफ गृहमन्त्रीले सदनमा दिनुपर्छ भनेर आग्रह गर्न चाहन्छु,’ उनले भने।

दुई पटक सिआइबीमा बयान लिएको मान्छेलाई के आधारमा फरार अभियुक्त भनेर अदालतमा पेस गरियो त्यसको जवाफ छिटोभन्दा छिटो सदनलाई जानकारी दिनुपर्ने माग खतिवडाले राखे।

प्रकाशित: १६ असार २०८१ १७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App