१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘अस्थिर’ लेखेपछि भड्किए प्रधानमन्त्री: प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफूलाई ‘अस्थिर चरित्र’ को व्यक्ति भनेर टिप्पणी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्टि पोखेका छन्।

आइतबार नेकपा एसको १० औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन प्रधानमन्त्री दाहालले आफ्ना गतिविधि अस्थिर नभई गतिशील रहेको दाबी गर्दै असन्तुष्टि पोखेका हुन्।

‘आज नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। शान्ति प्रक्रियामा गयो,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो।’

तर त्यो अस्थिर शब्द ‘इन्भटेड कमा’ को अस्थिर रहेको उनले दाबी गरे। उनले भने, ‘प्रचण्ड अस्थिर नभएको भए शान्ति सम्झौता पनि हुँदैनथ्यो।’

त्यसपछि उनले गतिशीलता भनेको के हो ? द्वन्द्वात्मक भौतिकवाद हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ भनेको के हो ? भनेर प्रश्न गरे।

‘किलोजस्तै ठोकिएर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरीजस्तो मार्क्सवाद हो की ? गडगडाउँदो नदीजस्तो मार्क्सवाद हो ? तपाई सबैले विचार गर्नुपर्छ भन्छु,’ प्रधानमन्त्री दाहालले आग्रह गरे।

‘मार्क्सवाद जमेको पोखरीजस्तो होइन, एउटा कुरा भनेपछि भन्यो–भन्यो। ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद हो ,’ प्रधानमन्त्री दहालले अगाडि भने।

नेकपा माओवादी र त्यो आन्दोलनमा जोडिएका व्यक्ति एक ठाउँमा अडिएर बस्ने भन्ने नहुने उनले दाबी गरे। उनले भने, ‘माओवादी आन्दोलनसँग जोडिएका साथी, यहाँ विप्लवजी पनि हुनुहुन्छ। एक ठाउँमा बस्ने भन्ने हुँदैन। हामी दौडिराख्या हुन्छौं, हामी दौडिराख्या हुन्छौं।’ तर त्यो दौडाइ ठिक थियो या गलत भन्ने सवाल मुख्य रहेको उनले बताए।

‘त्यो दौडाइबाट नेपाल अगाडि बढ्यो सामन्ती निरंकुश तन्त्रबाट देश गणतन्त्रमा गयो भने त्यो गतिशीलता हो, अस्थिरता होइन,’ उनले भने,‘यदि युद्धबाट शान्तिमा गयो भने गतिशीलतामा गयो भने अस्थिरता अराजकता होइन।

संघीय लोकतान्त्रिक सबै उत्पीडित जाति, वर्ग, लिंग समुदायले सबैले केही न केही पहिचान र अधिकार प्राप्त गरे भने त्यो गतिशीलता हो, अस्थिरता होइन।’

अनि जे गतिशील चिज हो त्यसलाई अस्थिर भने जडतामा फस्ने खतरा हुने प्रधानमन्त्री दाहालले दाबी गरे। उनले भने, ‘जे द्वन्द्वात्मक र भौतिकवादी चिज हो, जसले परिवर्तनलाई आत्मसात् गर्‍यो त्यसलाई अस्थिरताको आरोप लगाए तपाईंहरू जडतामा फस्ने खतरा हुन्छ कि भन्ने चिन्ता व्यक्त गर्न चाहन्छु।’

जसलाई सम्मान गर्ने हो उसलाई अपमान गर्‍यो भने राम्रो हुन्न भनेर प्रधानमन्त्री दाहालले सन्देश दिए। 

प्रकाशित: १६ असार २०८१ १६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App