नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ यता सरकार बनाउनतिर ध्यान नदिन कांग्रेस नेताहरूलाई प्रस्ताव गरेका छन्।
मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता उपस्थित रहेको एक सभामा महामन्त्री थापाले यस्तो प्रस्ताव राखेका हुन्।
‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ। एमाले, माओवादी, घण्टी, बण्टी, जो—जोले चलाएका छन्, चलाउन दिउँ। चलाउन्,’ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने,‘सरकारतिर हामी हेर्दै नहेरौँ। यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ।’
यसरी लागे आगामी निर्वाचनमा कांग्रेसलाई कम्तिमा एकसय सिट जित्ने महामन्त्री थापाले दाबी गरे। उनले भने, ‘धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तिमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका कुरालाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि कांग्रेसले राख्छ।’
यस्तो तागत भएको पार्टी बनाउन जरुरी रहेको उनले बताए। ‘यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ। म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ। पार्टी निर्माण गर्ने काममा लागौँ,’ महामन्त्री थापाले भने।
प्रकाशित: ११ असार २०८१ १७:२० मंगलबार





