२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

लेखा समूहका कर्मचारीको आन्दोलनः कोशी प्रदेशको खर्च शुन्य

लेखा शाखामा कार्यरत कर्मचारीको आन्दोलनका कारण शुक्रबार कोशी प्रदेशको खर्च शुन्य भएको छ । प्रदेश सरकार मातहत कार्यरत कर्मचारीको वृत्तिविकास रोकिने गरी प्रदेश  लोकसेवा आयोगले गरेको पदपूर्तिको विज्ञापन सच्याउनु पर्ने वा रद्द गर्नुपर्ने माग राख्दै लेखा शाखाका कर्मचारी बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।  

बिहीबारदेखि कर्मचारीहरू आन्दोलित भएका कारण शुक्रबारदेखि कोशी प्रदेशको खर्च शुन्य भएको आर्थिक मामिला मन्त्रालयका लेखा अधिकृत भोला नेपालले बताए । उनले प्रदेश सरकार मातहतका करिब २ सय कार्यालयको चेक नकाटेका कारण प्रदेशको सिस्टममा शुक्रबार शुन्य खर्च देखिएको बताए । नेपालले कर्मचारीहरूको माग पूरा नभए आइतबारदेखि आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । 

उनले झापा, मोरङ र सुनसरीका सबै कार्यालयका लेखा शाखाका कर्मचारीहरू विराटनगर आएर आइतबारदेखि आन्दोलनमा उत्रने चेतावनी दिए । ‘असारको महिनामा कोशी प्रदेश सरकारको खर्च शुन्यमा झरेको छ’ नेपालले भने‘कर्मचारीको माग सम्बोधन गरेर कर्मचारीलाई नियमित काममा फर्कने वातावरण तयार गर्न सरकारसँग माग गर्दछौं ।’  

कोशी प्रदेश सरकार मातहत करिब २ सय कार्यालयहरू र रहेको १४ वटै जिल्लामा कार्यरत लेखा शाखाका कर्मचारी आन्दोलन भएका कारण सरकारले खर्च गर्न नसक्ने अवस्था आएको छ । सबै भन्दा बढी खर्च हुने असार महिनामै लेखा शाखाका कर्मचारीले आन्दोलन थालेपछि कार्यालयहरूका चेक कट्न छाड्दा विकासका कामहरूसमेत प्रभावित हुने अवस्था आएको छ । 

कोशी प्रदेश सरकार मातहतका कर्मचारीहरूले बिहीबार देखि आर्थिक  मामिला तथा योजना मन्त्रालयमा हातमा कालोपट्टी बाँधेर काम रोक आन्दोलनसहित धर्ना दिइरहेका छन् । सरकारलाई तीन महिना पहिले देखि नै आफूहरूका माग सम्बोधनका लागि दबाब दिए पनि वेवास्था गरेका कारण आन्दोलनमै उत्रन बाध्य भएको कर्मचारीहरूले बताएका छन् । सरकारले बजेट आएपछि ऐन संसोधन गर्ने आश्वासन दिए पनि ऐन संसोधन नगरी नयाँ भर्ना खोलेपछि कर्मचारी आक्रोशित भएका हुन् । 

आन्दोलित कर्मचारीहरूले  कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजना मन्त्री राम रानालाईसमेत ज्ञापनपत्र बुझाईसकेको भए पनि सरकारले माग पुरा गर्नेतर्फ ध्यान नदिएको कर्मचारीहरूले बताएका छन् ।  

प्रकाशित: ७ असार २०८१ १९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App