राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन्।
शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपासँग आम नागरिकहरुको ठूलो आश रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे।
उनले आम नागरिकको मत लिएर सरकारमा गएको रास्वपाले कुनै पनि राम्रो काम गरेको बताए। उनले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको र उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिइरहेको दाबी गरे।
उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा। नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्न सक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेनौँ। तर नराम्रो नगर्दैमा पुग्ने दल हो र हाम्रो। हामीमा त कत्रो भारी छ। कत्रो अपेक्षा छ, माछै माछाका कुरा छन् यहाँ। सबैभन्दा ठूलो त यहाँ माछा छ नि त। उपलब्धि के हो माछा भन्ने हामीले बनाएका छाैँ। हामीले पनि भनेकै हौँ, बनाएका पनि हौँ। अरु त सबै ठिक छ, खै त भन्ने। चिया पसलहरुमा पनि खै त सय दिन भयो खै त भन्ने छ। विधिको स्थापना गर्ने काम गरेको छ, पछिसम्म काम लाग्ने काम गरेको छ।’
यसैबिच,उपप्रधानमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरुसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए।
प्रकाशित: १ असार २०८१ १२:५९ शनिबार