१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्रालयमा रविका १०० दिन: नियमित काममै उपलब्धि दाबी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्रालयमा एक समारोह नै आयोजना गरेर उनले आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन्।

गृहमन्त्री लामिछानेले सार्वजनिक गरेको उपलब्धिमा अधिकांश विषय मन्त्रालय र मातहतका निकायका नियमित कामलाई नै देखाएका छन् । जसमा अपेक्षा गरेअनुरुपको उल्लखनीय कुनै पनि काम छैन । यस्तै विवादित काममा भने मौनता देखाएका छन्।

गृहमन्त्री लामिछानेले सार्वजनिक गरेको उपलब्धि विवरणमा नीतिगत तथा कानूनी प्रवन्ध, शान्ति सुरक्षा र अपराध नियन्त्रण, सीमा तथा अध्यागमन प्रशासन, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादन सहजीकरण, राजस्व चुहावट नियन्त्रण, सूचना प्रविधिको प्रयोग र विविध भनेर कामहरूलाई वर्गीकरण गरेका छन् । जसमा कुल ७८ बुँदा समावेश छन् ।

नीतिगत तथा कानुनी प्रवन्ध

गृहमन्त्री लामिछानेले यो शीर्षकमा केहि कानुनको संशोधन गरेको र कार्यबिधि बनाएको विषयलाई समेटेका छन् । जसमा ‘फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ मा संशोधन गरेर नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी(कैदकट्टा)लाई पीडित मैत्री, पारदर्शी र बस्तुनिष्ठ बनाउन कानूनी आधार तयार भएको’ भनेर दाबी गरिएको विषय पहिलो बुँदामा समेटिएको छ । यस्तै आन्दोलन तथा प्रदर्शनका क्रममा हुने गरेको तोडफोड लगायतका कार्यबाट सरकारी तथा सार्वजनिक सम्पत्तिको क्षति रोक्न आयोजकलाई जवाफदेही बनाउन कार्यबिधि बनाएको अर्को उपलब्धिमा उल्लेख छ ।

यस्तै चीनतर्फ हुने सीमा पार आवत–जावतलाई सहज बनाउन प्रमुख जिल्लाका अधिकारी(सिडिओ)बाट वितरण हुने प्रवेश पासलाई सुरक्षणयुक्त, प्रविधिमैत्री र प्रभावकारी बनाउन नयाँ आवागमन अनुमति प्रणाली कार्यविधि स्वीकृत गरिएको, सिडिओले हेर्ने मुद्दाहरूको कार्यविधि म्यानुअल, २०८०स्वीकृत गरिएको, गृहसँग सम्बन्धित कानून, निर्देशिका तथा परिपत्रहरुको दिगदर्शन, २०८१ स्वीकृत गरिएको विषयलाई पनि उपलब्धिमा समेटिएको छ ।

यस्तै आवश्यक सेवामा हड्ताल गर्न निषेधको सूचना प्रकाशन गर्ने, हातहतियार बोक्न निषेधित क्षेत्र तोक्दै नेपाल राजपत्रमा प्रकाशन गर्न कानून मन्त्रालयमा पत्राचार गरेको विषयलाई पनि उपलब्धिको सूचीमा उल्लेख गरिएको छ ।

यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृतिको मन्त्रिपरिषद् बैठकमा पेस गरेको, माथिल्लो अरुण परियोजनाको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजना कार्यान्वयन इकाई स्थापना गरेको, विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनस््थापना अनुदान कार्यविधि, २०८१ स्वीकृत भएको जस्ता मन्त्रालयका नियमित कामलाई पनि गृहमन्त्री लामिछानेले आफ्नो १०० दिनको उपलब्धिमा दाबी गरेका छन् ।

यस्तै सबै प्रकारका विपद्का कारणले घरवारविहिन भएका परिवारले अस्थायी आवास निर्माणका लागि ५० हजार र स्थायी आवासका लागि जिल्लागत वर्गीकरणअनुसार ४ लाख, ५ लाख र ६ लाख रुपैयाँ अनुदान पाउनेगरिगरी कार्यविधि पारित गरिएको, भूकम्प लगायत सहरी क्षेत्रको विपद् पूर्वतयारी र प्रतिकार्यमा संयुक्त राष्ट्र संघ विकास कार्यक्रमबाट सहयोग प्राप्त कार्यक्रम व्यवस्थापन वोर्ड गठन गर्न स्वीकृत दिएको, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ बमोजिम सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने व्यवस्था लागु गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृति गरेको, १६ औं योजना तर्जुमाका क्रममा राष्ट्रिय योजना आयोगलाई गृह मन्त्रालयको क्षेत्रगत नीति, रणनीति, कार्यक्रम उपलब्ध गराइएको विषय पनि गृहमन्त्री लामिछानेको उपलब्धि सूचीमा समेटिएका छन् ।

पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा गठित ‘गृह मन्त्रालय अन्तर्गतका निकायहरुका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समितिको प्रतिवेदन प्राप्त भएको विषयलाई पनि गृहमन्त्री लामिछानेले आफ्नो उपलब्धिको सूचीमा समेटेका छन् । उक्त कार्यदल गृहमन्त्रालयमा नारायणकाजी श्रेष्ठ हुँदै बनेको थियो ।

यस्तै सशस्त्र द्वन्द्वमा घाइतेहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनवरालोकन कार्यविधि, २०७४ को संशोधनका लागि मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको सामान्य मन्त्रालयीय कामकाजको विषय पनि गृहमन्त्रीको उपलब्धिको सूचीमा समावेश भएको छ ।

अर्को बुँदामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संगठन व्यवस्थापन तथा सर्वेक्षण समिति गठन गरिएको विषय समेटिएको छ भने, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधिको पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउन कार्यदल गठन गरेको विषय पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन् ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण

गृहमन्त्री लामिछानेले यस शीर्षकमा विभिन्न आन्दोलनरत् समूहसँग भएको वार्ता र सहमतिका विषयलाई आफ्नो कार्यकालको उपलब्धिका रूपमा चित्रण गरेका छन् । जसमा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालबीच सहमति भएको विषय उल्लेख गर्दै मिटरव्याज समस्या समाधानका लागि नेपाल सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेकोसम्ममा आफ्नो काम दाबी गरेका छन् । यस्तै मृतक आरती शाहका परिवारसँग सम्झौता भएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको भन्दै आफ्नो उपलब्धि देखाएका छन् ।

यसैगरी आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति, लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच गृह मन्त्रालयको सहजीकरणमा वार्ता तथा सम्झौता भएर आन्दोलन रोकिएको गृहमन्त्री लामिछानेको दाबी छ ।

यसैबीचमा इलाम–२ र बझाङ (क)मा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकामा पनि गृहमन्त्री लामिछानेले आफ्नो उपलब्धि ठानेका छन् । कतारका अमिर शेख तमिल बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणलगायत विदेशी पाहुनाको भ्रमणमा प्रभावकारी सुरक्षाव्यवस्था मिलाइएको भन्दै अर्को बुँदामा उपलब्धि परिभाषित गरिएको छ ।

यस्तै साना हातहतियारको नियमनलाई प्रभावकारी बनाउन छानबिन समितिमार्फत काम भइरहेको, काठमाडौंको ठमेल र दरबारमार्ग तथा पोखराको लेकसाइडमा रात्रीकालिन व्यापार व्यवसाय सञ्चालनमा ल्याइएको, सुरक्षाकर्मीका पेट्रोल पम्प २४ सैं घण्टा सञ्चालन गर्न मिल्ने बनाएकोसम्मका विषय पनि गृहमन्त्री लामिछानेको उपलब्धिमा समेटिएका छन् ।

यस्तै हिरासत छल्न अस्पताल बस्ने कार्यलाई नियन्त्रण गर्न नेपाल मेडिकल काउन्सिलको राय लिई कार्यान्वयनका लागि नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयमा पत्राचार गरिएको विषय पनि गृहमन्त्री लामिछानेले उपलब्धिमा समेटेका छन् ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य कानून बमोजिमबाहेक विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जना गरी जम्मा २४१ जना सुरक्षाकर्मी फिर्ता गरेको विषय अर्को उपलब्धिमा समेटिएको छ । यस्तै प्रहरीले नियमित गर्दैआएको फरार अभियुक्त प्रकाउ गर्ने र जरिवाना अशुल गर्ने विषय पनि गृहमन्त्री लामिछानेले आफ्नो उपलब्धिमा उल्लेख गरेका छन् ।

सीमा तथा अध्यागमन प्रशासन

यस्तै यो शीर्षकमा अध्यागमन विभागलाई आगमन बिन्दूमा भिसा दिने, गैर–आवासीय अध्ययन भिसा उपलब्ध गराउने, नियमानुसारको भिसा दस्तुर छुट दिने, कार्य सहमति प्रदान गर्ने अधिकार प्रत्यायोजन गरेको, विमानस्थलमा डेस्क थप विस्तार गरेको, अध्यामगन कर्मचारीलाई अलग पहिचान दिन छुट्टै पोसाक प्रयोगमा ल्याइएको जस्ता विषय गृहमन्त्री लामिछानेले आफ्नो उपलब्धिमा समेटेका छन् ।

यस्तै सशस्त्र प्रहरीले सीमाक्षेत्रमा गरिरहेका नियमित कार्यक्रम पनि गृहमन्त्री लामिछानेको उपलब्धि सूचीमा उलेख छन् ।

निर्देशन र कार्य सम्पादनमा सहजीकरण

यो शीर्षकमा बजेट कार्यान्वयनका देखिएका समस्याबारे समस्या समाधान समितिका बैठक भएका, सिडिओसँग भर्चुअल बैठक गरी जिल्लाका समस्या सुनेका जस्ता विषय समेटिएका छन् ।

यस्तै गृहमन्त्री लामिछानेले सिडिओलाई २१ वटा शीर्षकमा ६८ बुँदे कार्यसम्पादन मार्गदर्शन गरिएको विषयलाई उपलब्धिमा समेटेका छन् । प्रदेशहरूमा सुरक्षा गोष्ठिजस्ता मन्त्रालयका नियमित विषय पनि उपलब्धिमा समावेश छन् ।

यस्तै सुरक्षा निकायमा जनशक्ति व्यवस्थापनलाई लैङ्गिक मैत्री बनाउन पत्राचार गरिएको, महिला ट्राफिक प्रहरीलाई महिनावारीको समयमा सडकको जिम्मेवारीमा नखटाउने व्यवस्था गर्न निर्देशन दिएको विषय पनि गृहमन्त्री लामिछानेले आफ्नो उपलब्धि भनेका छन् ।

राजश्व चुहावट नियन्त्रण

यसमा पनि गृहमन्त्री लामिछानेले मन्त्रालय र मातहतका निकायका नियमित कामलाई नै उल्लेख गरेका छन् । जसमा सिडिओको नेतृत्वमा हुने राजश्व चुहावट नियन्त्रण समितिलाई सक्रिय बनाइएको, राजश्व चुहावट नियन्त्रण अन्तरक्रिया कार्यक्रम गरेको, सुरक्षाकर्मी परिचालनलाई थप सक्रिय बनाइएको विषय उल्लेख गरिएका छन् ।

यस्तै सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न सीमा गस्तीलाई व्यापक बनाइएको र एक अर्ब ४३ करोड ९७ लाख ५८ हजार राजश्व उठेको लामिछानेले आफ्नो उपलब्धिमा दाबी गरेका छन् ।

सूचना प्रविधिको प्रयोग

यसमा केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणालीलाई स्तरोन्नति गरी ६५ कार्यालयमा सञ्चालनमा ल्याइएको, वडाबाट लिनुपर्ने कागजात लिन विधुतीय प्रणाली विकास गरेर ९० वडा कार्यालयमा लागु गरेको विषय लामिछानेले उपलब्धिमा समेटेका छन् । यस्तै सिंहदरबारको प्रवेश व्यवस्थापनलाई बनाउन क्युआर कोडसहितको गेट पास प्रणाली सञ्चालनमा ल्याइएको र समस्या तथा गुनासो ‘गृहमन्त्रीलाई भन्नुहोस्’ प्रणाली सुरु गरिएको कुरा पनि गृहमन्त्रीको उपलब्धिमा समावेश छ ।

यस्तै अर्को बिबिध शीर्षकमा गृहमन्त्री लामिछानल ६३३ विगाहा ७ कठ्ठा १३ धुर र ७४ रोपनी १३ आना सार्वजनिक जग्गा साबिककै अवस्थामा फिर्ता ल्याइएको, सशस्त्र प्रहरीलाई १८ स्थानका जग्गा प्राप्ति गर्न सफल भएको, वृहत्तर जनकपुर क्षेत्र विकास परिसरको सम्पत्ति तथा जग्गा हिनामिना तथा अतिक्रमणको छानविन गर्ने तयारी गरिएको जस्ता विषय समेटेका छन् ।

विवादित विषयमा मौनता

गृहमन्त्री लामिछानेले १०० दिनका उपलब्धि सार्वजनिक गर्दा विवादित विषयमा भने मुख खोलेनन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, व्यवसायी अरुण चौधरी पक्राउ, सांसद् विनोद चौधरीको बयानदेखि टीकापुर जग्गा प्रकरणको छानबिनसम्मका विषयमा उनले मौनता साँधे ।

यस्तै आफै समेत मुछिएको सहकारी ठगी प्रकरणको अनुसन्धानदेखि आफ्ना पुराना व्यवसायीक साझेदार जितेन्द्रबाबु राई पक्राउ गर्नेसम्मका विषयमा पनि गृहमन्त्री लामिछानेबाट कुनै अभिव्यक्ति आएन् । उपलब्धि सार्वजनिक समारोहमा उनले पत्रकारका प्रश्नको समेत सामना गर्न चाहेनन् ।

प्रकाशित: ३२ जेष्ठ २०८१ १९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App