भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबीचको सम्बन्ध थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महरले परम्परागत र सांस्कृतिक सम्बन्ध सँग-सँगै युग अनुसारको सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका हुन्।
‘नेपाल–भारतबीच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटीबेटीको सम्बन्ध छ,’ उनले भने,‘अब यो सम्बन्धलाई थप व्यवस्थित, समय सान्दर्भिक र युग सुहाउँदो दुई देशीय सम्बन्धका रूपमा पनि विकास गर्नुपर्छ।’
नेपाल–भारतबीचमा एकाध कुरामा मनमुटाब देखिने गरेका विषयमा पनि नेता महरले टिप्पणी गरेका छन्। ‘त्यो द्वन्द्व नभएर इसिजीको रेखा जस्तो हो,’ उनले भनेका छन्।
इसिजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए। उनले भने, ‘हामीबीचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ। तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ।’
पहिले नेपाली युवाका लागि भारत उच्च शिक्षाको गन्तव्य रहे पनि अब आधुनिक ज्ञान र सीपका रूपमा त्यस अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनले जाेड दिए। दुई देशका युवाहरूलाई परस्पर आर्थिक गतिविधिसँग जोड्न सके देशबीचको सम्बन्ध थप बलियो हुने उनको भनाइ थियाे।
यस्तै अर्को प्रसङ्गमा नेपालको समृद्धिबीना छिमेकी ठुला मुलुक भारत र चीनको समृद्धि पनि सम्भव नभएको नेता महरको दाबी थियो।
सोही कार्यक्रममा नेता महरले नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको पनि स्मरण गरे। ४७ वर्ष अघि बिपीले विदेशमा रहेका नेपालीको सीप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाएर उनीहरूको सहयोगमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको विषय स्मरण गरेका हुन्।
अहिले विश्वका विभिन्न ३७ देशमा कांग्रेसका सम्पर्क समिति रहेका छन्।
प्रकाशित: ३१ जेष्ठ २०८१ १४:४७ बिहीबार





