१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रविको नैतिकतामाथि प्रदीपको व्यंग्य-नांगो मान्छे कपडा लगाएको ठान्छ!

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ७३ लाख जनता जोडिएको सहकारी ठगी प्रकरणलाई कांग्रेसले निर्णायक मोडमा पुर्‍याएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले यो मुद्दा संसद्मा नउठाएको भए पीडितहरूले न्याय पाउने अवस्था नहुने भन्दै यस्तो बताएका हुन्।

‘काँग्रेस पार्टीले संसदमा सहकारीको मुद्दा त्यस ढंगबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरुले न्याय पाउने अवस्था हुँदैन थियो,’ सांसद पौडेलले भने,‘७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली कांग्रेसले एउटा निर्णायक मोडमा पुर्‍याएको छ।’

कांग्रेसले सशक्त ढंगबाट संसदमा सहकारी मुद्दा उठाउँदा साना पार्टीबाहेक कुनैपनि ठुला दलले नउठाएको उनले बताए। ‘हामीले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरू जोडिएको अवस्था हो,’ उनले भने।

सत्तालाई सम्पूर्ण रूपमा दुरुपयोग गरेर सहकारीको मुद्दा उठ्न नदिने, गुपचुप गर्न, ढाकछोप गर्न र प्रमाण लुकाउन वर्तमान सत्ता गठबन्धन लागेको नेता पौडेलको आरोप छ। उनले भने,‘त्यसैले समिति गठन गरेर छानबिन गर्न खोजेको हो।’

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै पौडेलले नैतिकता व्यक्तिसँग निर्भर हुने कुरा रहेको समेत बताए। संसदीय समिति गठन गर्दा जसमाथि छानबिन गर्न खोजिएको हो, उसलाई राजीनामा दिनुपर्दैन भनेर फकाएर समिति बनाउनु परेको पनि पौडेलले दाबी गरे।

‘तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ, तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ,’ कार्यक्रममा अगाडि बोल्दै सांसद पौडेलले भने,‘राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो।’

कोही व्यक्ति नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा आफ्नो केही नलाग्ने उनले बताए।

‘संसदले छानबिन समिति गठन गर्‍यो। त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो।  प्रतिगामी विषय हो,’ उनले भने।

जसमाथि छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने खालको परिस्थितिलाई कांग्रेसले अन्त्य गरेर छाड्ने उनले दाबी गरे।

प्रकाशित: २६ जेष्ठ २०८१ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App