१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अल्पमतमा परेका मुख्यमन्त्री यादवले प्रक्रिया पुर्‍याउन विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिने तयारी गरेका छन्।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने तयारी गरेका हुन्। तर, उनले विश्वासको मत पाउने सम्भावना भने निकै न्यून छ।

मुख्यमन्त्री बनेपछि यादवले आज १६ औँ महिनामा पाँचौपटक विश्वासको मत लिन लागेका हुन्।

मङ्गलवार नेकपा एकीकृत समाजवादीले सरकार छाडेसँगै मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना सकिएको र मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालले सत्ता गुमाउने भएको छ।

संसदमा विश्वासको मत गुमाउने निश्चित भएपनि प्रक्रिया अनुसार नै अघि बढ्ने तयारी जसपा नेपालले गरेको नेता मनिस सुमनले बताए।

उनले मुख्यमन्त्रीले राजीनामा नदिने र प्रक्रिया अनुसार आजको बैठकमा विश्वासको मत लिने भन्दै नतिजा अनुसार नै अघि बढ्ने बताए।

२०७४ मङ्सीरको चुनावपछि लगातार मधेश सरकारमा रहेको जसपा नेपालले मधेश प्रदेशमा यसपटक बहुमत गुमाएको छ।

मुख्यमन्त्री यादवले पहिलोपटक २०७९ माघ ४ मा विश्वासको मत लिँदा पक्षमा १०७ मध्ये प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका थिए भने विपक्षमा शून्य मत खसेको थियो। त्यसपछि २०८० जेड ३० गते दोस्रो पटक विश्वासको मत लिँदा पनि पक्षमा १०३ र विपक्षमा शून्य मत नै खसेको थियो।

मुख्यमन्त्री यादवले २०८० फागुन ६ गते तेस्रो पटक विश्वासको मत लिँदा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका थिए भने ३५ जनाले विपक्षमा मतदान गरे।

२०८१ वैशाख ४ मा चौथोपटक विश्वासको मत लिँदा उनको पक्षमा ६१ र विपक्षमा ० मत परेको थियो।

१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेश सभामा मुख्यमन्त्रीलाई सरकार टिकाइराख्न ५४ जनाको समर्थन आवश्यक पर्छ।

मङ्गलवार एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्रीको सचिवालयमा मङ्गलवार राजिनामा बुझाए। सँगै सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमत्रि सुवेदी भण्डारीलाई बुझाएका छन्।

केन्द्रमा वर्तमान गठबन्धनबाट जसपा नेपाल बाहिरिए पछि त्यसको प्रभाव मधेशमा देखिएपछि ३० वैशाखमा सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो भने मङ्गलवार एकीकृत समाजवादीले पनि समर्थन फिर्ता लिएको छ।

एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन्।

१०७ सदस्यीय मधेश प्रदेश सभामा एमालेका सभामुखसहित २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन्। यो सङ्ख्या ५३ पुग्छ। १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तयार भएको बुझिएको छ।

४ मंसिर २०७९ को चुनावपछि मुख्यमन्त्री चुनिएका यादव डेढ वर्ष अवधिमा गठबन्धन फेरबदलका बाबजुद उनी सुरक्षित थिए। तर, २३ जेठमा केन्द्रीय गठबन्धनमा रहेको १२ सिटको जसपा अशोक राईसहितले ७ सांसदले फुटाएपछि कमजोर बन्यो।

लगत्तै मधेशमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारबाट बाहिरिँदै जनमत, लोसपा सम्मिलित नयाँ सरकार बनाउने अभ्यासमा लागे।

अब जनमत संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित छ।

प्रकाशित: २३ जेष्ठ २०८१ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App