२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसद्मा बोलेको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरेका छन्।

बिहीबार नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्को बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसद्मा दिएको भन्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।

गृहमन्त्रीले संसद्मा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने उनको भनाइ थियो। सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै उनले प्रश्न समेत गरे। 

सहमति नभए संसद्को रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे।

उनले भने ‘नयाँ पार्टीका साथीहरूले भन्दै हुनुहुन्थ्यो, सहकारी ठगीका फाइलहरू खोल्ने हो भने ०४६ सालपछिका सबै खोल्न तयार हो कांग्रेस ? साथीहरू भन्दै हुनुहुन्थ्यो त्यो भन्दा दुई दिनअघि नै धनराज गुरुङको प्रस्ताव, सहमहामन्त्री बद्रिप्रसाद पाण्डे र जीवन परियारको समर्थनमा नेपाली कांग्रेस पार्टीले संसद्मा प्रस्ताव नै दर्ता गरिसकेको छ। ०४६ सालपछि को मन्त्री भए, कोको केके भए ? कसले कति कमाए होलान् ? कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रस्तावित गरेका छौँ। त्यसैले यो बेलामा नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा हामी दृढतापूर्वक बोलिरहेका छाैँ।’

महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताउँदै राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोची राजनीति राम्रो बन्नुपर्नेकुरामा बढी ध्यान दिन जरुरी रहेको बताए।

महामन्त्री शर्माले देश बनाउने मिसनमा सबै सामेल हुनुपर्नेमा जोड दिए। उनले राजनीतिमा कुनैपनि संकट नरहेको जिकिर गरे।

प्रकाशित: १० जेष्ठ २०८१ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App