४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम सरकारमा सहभागी हुन एमालेलाई नेपालको आग्रह

, ,

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको पत्रकार सम्मेलनमार्फत अध्यक्ष नेपालले यस्तो आग्रह गरेका हुन्।

बिहीबार (आज) सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत  लिने कार्यक्रम छ। यसअघि दुईपटक विश्वासको मत लिने प्रयास गर्दा एमालेले आनाकानी गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो।

आज भने एमालेले मुख्यमन्त्री सोडारी सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। तर, सरकारमा भने सामेल नहुने निर्णय गरेको छ। एमालेको सोही निर्णयलाई बदलेर सरकारमा सामेल हुन अध्यक्ष नेपालले आग्रह गरेका हुन्।

‘यो सत्ता समीकरणमा हाम्रो पार्टी पनि सामेल छ। केन्द्रीय सरकारमा पनि छ र प्रदेश सरकारमा पनि छ। आज मात्रै पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, उहाँले विश्वासको मत प्राप्त गर्नुपर्ने कार्य सूची छ। सबै सम्बन्धित पार्टीबाट सहयोग प्राप्त गर्ने छाैं भन्ने लागेको छ,’ नेपालले भने, ‘विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै होइन, यसलाई सहभागी समेत भएर मन्त्रिमण्डलमा सहभागी भएर सहकार्य गर्नका लागि आह्वान गर्न चाहन्छौं।’

कोशीको नयाँ प्रदेश सरकार आफूसँग कुरा भएर नबनेको भए पनि आफूहरूले विश्वासको मत दिएको अध्यक्ष नेपालले बताए। उनले भने, ‘परामर्श हामीसँग भएको भए राम्रो हुन्थ्यो। हामीले विश्वासको मत दिएका छौं, चलिरहेको छ।’

प्रकाशित: ३ जेष्ठ २०८१ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App