२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि, महाधिवेशनमा पेस हुने प्रतिवेदनलाई अन्तिम रुप दिइने

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ।  बैठक बिहान १० बजेबाट सुरु हुनेछ।

मङ्गलवारबाट ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि छलफल भइरहेको छ।

पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका साङ्गठानिक प्रतिवेदनमा सामुहिक छलफल गर्न १२ समूह बनाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए।

पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस  गरेको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ ।

राजनीतिक  प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन्। देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ।

समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन्।

विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ। कायम रहेको ७० वर्षीय उमेर हद हटाउने भनिएको छ।

साङ्गठनिक दस्तावेजमा देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख गरिएका छन्।

समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

पार्टीले आगामी असारमा काठमाडौँमा महाधिवेशनको तयारी गरेको छ। यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा आज छलफल गरिने छ।  

प्रकाशित: २ जेष्ठ २०८१ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App