२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रामहरि श्रेष्ठको परिवारसँग गृहमन्त्रीले भने: राजनीतिक दल हेरेर अपराधीलाई उन्मुक्ति दिन्न

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।

बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उनका पुत्र रोहन श्रेष्ठले खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन्। उनीहरुले कुनैपनि राजनीतिक दलहरुको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेको खबरदारी गरे। भेटमा बोल्दै रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छोड्न नहुने बताइन्। उनले यसअघि पनि विभिन्न राजनीतिक दलहरुको संरक्षणमा पटक पटक छोडिएको भन्दै अपराधीलाई कारबाही गर्न माग गरिन्। उनले श्रीमान नपाए पनि अब न्याय पाउने आश लागेको बताइन्। उनले खाम पक्राउ परेपछि आफू र परिवारमाथि सुरक्षा चुनौति बढेको बताइन्।

पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभइ सत्यको आधारमा कारबाही गर्ने बताए। उनले काम गर्न जटिलता भएपनि अपराधीलाई उन्मुक्ति नदिने बताए। उनले कसैप्रति आग्रह, पूर्वाग्रह नराखिकन काम गरिरहेको बताए।

उनले भने, ‘हामीले कुनै राजनीतिक दल हेरेर, कुनै व्यक्तिको शक्ति कहाँ छ भन्ने हेरेर त्यो हिसावले होइन, हामीले न्याय के हो? सत्य के हो? त्यसमा काम गर्ने हो। केही जटिलता छ, काम गर्ने जटिलता छ, समाजमा जटिलता छ। एक जना फेरिने बित्तिकै सबै फेरिने त होइन। समय लाग्छ । इमान्दारीपूर्वक काम गरिरहेका छौँ। हामी सम्पूर्ण रुपमा अनुसन्धान गर्छौं। कसैप्रति आग्रह, पूर्वाग्रह छैन, हामीले सबैलाई कानूनको दृष्टिकोणबाट हेर्नेछौँ। हामीले व्यक्ति जोगाउने होइन, मुलुक र व्यवस्था जोगाउने हो। जनता, न्याय जोगाउने हो।’

प्रकाशित: ६ वैशाख २०८१ १६:४८ बिहीबार

रामहरि श्रेष्ठको हत्या हत्या आरोपित कालीबहादुर खाम