२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

इलाम–२ मा एक लाख १५ हजार मतदाताले मतदान गर्न पाउने

इलामको निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाताले मतदान गर्न पाउने भएका छन्। अघिल्लो निर्वाचनभन्दा अहिले पाँच सय ४७ मतदाता बढेको निर्वाचन कार्यालयले जनाएको छ।

वैशाख १४ सम्ममा १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि पुरुष मतदाताको संख्या ५९ हजार १८ र महिला मतदाताको संख्या ५६ हजार आठ सय ६९ हुने निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नम्बर २ मा पाँच पालिकाका ४२ वटा वडा पर्छन्। इलाम नगरपालिकाका १२ वटा वडामध्ये १० बाहेक सबै क्षेत्र २ मा पर्छन्। यी वडाको कुल मतदाता संख्या ३४ हजार ४५ रहेको छ। देउमाई नगरमा २६ हजार तीन सय ६५, चुलाचुलीमा १८ हजार पाँच सय ४५, फाकफोकथुममा १६ हजार तीन सय दुई, माङ्सेबुुङमा १२ हजार पाँच सय ३६ र माई नगरका वडा ६, ७, ८ मा आठ हजार ९६ मतदाता रहेको आयोगको तथ्यांकमा उल्लेख छ। २०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए।

क्षेत्र नम्बर २ मा अहिले ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन्। सुरक्षा निकायले सबै मतदानस्थललाई ‘अति संवेदनशील’ भनेको छ।

प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचन देशभरको एउटैमात्र निर्वाचन क्षेत्र भएकाले यहाँका सबै मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको हो। ‘यहाँमात्रै उपनिर्वाचन हुँदा देशभरको ध्यान एकैठाउँमा केन्द्रित छ,’ सिडिओ इन्द्रदेव यादवले भने, ‘बाहिरबाटसमेत आउ–जाउ बढी हुनसक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील छन्।’

गत भदौ २६ मा यो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि १२ दल र सात उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित: ४ वैशाख २०८१ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App