२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बागमतीमा ‘टाउको दुखाइ’ बन्दै मन्त्री व्यवस्थापन

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल।

१२ वटा मन्त्रालयमा १३ जना मन्त्री भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मन्त्रीको व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै त्यसकै असर स्वरुप बागमती प्रदेशमा समेत नयाँ समीकरण सहितको सरकार बन्दा १३ मन्त्री नियुक्त गर्नुपर्ने बाध्यात्मक परिस्थित जम्कट्टेललाई आइपर्‍यो।

मुख्यमन्त्री जम्कट्टेलले चैत्र १९ गते विश्वासको मत प्राप्त गरेसँगे त्यसको भोलीपल्ट २० गते मन्त्रिपरिषद् विस्तार गर्दै उनले १३ मन्त्रीलाई शपथ ग्रहण गराए।

विना विभागीय मन्त्री (मन्त्रालयको जिम्मेवारी पछि तोकिने भनिएको) रमा आले मगरले अहिलेसम्म जिम्मेवारी पाउन सकेकी छैनन्। आले नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेकी हुन्। उनले मन्त्री पद ‘बार्गेनिङ’ गरेरै मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको विषय समेत चर्चा चलेको थियो।

हाल बागमतीमा माओवादी केन्द्रको मुख्यमन्त्रीसहित ४, नेकपा एमालेको ५, नेकपा एकीकृत समाजवादीको ३ र हाम्रो नेपाली पार्टीको एक मन्त्री रहेका छन्। मन्त्री आलेलाई जिम्मेवारी नदिएको भन्दै एकीकृत समाजवादी मुख्यमन्त्रीसँग रुष्ट हुँदै आएको छ।

यस्तैमा बागमतीमा मन्त्री व्यवस्थापनका लागि मन्त्रालय विभाजनको तयारी भइरहेको चर्चा छ। जम्कट्टेलले विना विभागीय मन्त्री व्यवस्थापनका लागि सत्तारुढ दलबीच सहमति गरेर मन्त्रालय फुटाउने तयारी गरेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त हुने बित्तिकै मन्त्रालय संख्या घटाउने निर्णय गरेर चर्चा बटुलेका उनी अहिले सरकार टिकाउन आफ्नै निर्णय लत्त्याउने अवस्थामा भन्दै विरोध समेत भइरहेको छ।

जम्कट्टेलले बढीमा एक हप्ताभित्र विना विभागीय मन्त्रीको विषय टुङ्गो लगाइने बताएका छन्। यता सत्ता साझेदार दल नेकपा एमाले संसदीय दलका नेता समेत रहेका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ (जेएन) थपलिया भने मन्त्रालय फुटाउने विषयका विरुद्धमा रहेका छन्। उनले प्रदेशमा १२ वटै मन्त्रालय हुने बताए।

मन्त्रालय बढाउने विषयमा एमालेको सहमति नरहने उनको भनाई छ। एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीको एक मन्त्री फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ।

समाजवादीको कोटामा २ मन्त्री मात्र भएकोले अहिले भएका तीनमध्ये एक मन्त्री फिर्ता हुनुपर्ने उनीहरुको माग छ। एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले मन्त्रालय विभाजन गर्ने र एक मन्त्रीलाई फिर्ता बोलाउने विषय आफूहरुलाई मान्य नहुने बताए। केन्द्रदेखि प्रदेशसम्म एकीकृत समाजवादीलाई अपमान गर्ने ढंगले गठबन्धनले काम गरिरहेको उनको भनाई छ।

प्रकाशित: ३ वैशाख २०८१ १८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App