१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

अवैध आर्थिक गतिविधि गर्ने कसैलाई छोड्दैनौँ : गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्ममतापूर्वक अघि बढ्ने बताएका छन्।

गृह र अर्थ मन्त्रालयद्वारा वीरगन्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका हुन्।

गृहमन्त्री लामिछानेले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने उल्लेख गर्दै भने ‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ। त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ। बिल नबनाउने, गलत बिल बनाउने, एउटा सामान ल्याउँदा अर्को समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिन्छौँ।’

गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएका चुनौतीलाई समाधान गर्नका निमित्त सक्रिय भएर सरकार लागि परेको उल्लेख गरे। ‘बजारमा छ्यापछ्याप्ती अखाद्य वस्तुहरु छन्। किसानले उत्पादन गरेका दूध फालिने अवस्था सृजना भएको छ। आफ्नै उत्पादनले बजार पाइरहेका छैनन्। यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने यो कुरामा हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन। म आफैँले पनि राम्रो काम गर्न सकिन भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर राख्नुहुन्न। यो कुरा मलाई मात्रै होइन, सबैलाई लागू हुन्छ।’

गृहमन्त्री लामिछानेले बजारमा प्रतिबन्धित वस्तुहरू पर्याप्त मात्रामा भइरहेको प्रति असन्तुष्टि जनाउँदै सो प्रतिबन्धित आयातलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुन सबै सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

‘यसअघि पनि सरकारले आयात प्रतिबन्ध लगाएका वस्तु तथा सेवा बजारमा छ्यापछ्याप्ती देखिरहेको छ। जुन बजारमा प्रतिबन्धित सामग्री छ्यापछ्याप्ती पाइन्छ। यो क्षेत्रमा जिम्मेवारी लिएर बसेका प्रशासनिक तथा प्रहरी अधिकृत पनि निरन्तर रहिरहन सक्दैनन्। त्यसैले त्यस्ता खालका विकृति र विसङ्गति अन्त्य गर्नका लागि आवश्यक काम गरिहाल्नुस्।’ उनले निर्देशन दिए।

गृहमन्त्री लामिछानेले अवैध तस्करी तथा भन्सार छलीका गतिविधिलाई कडिकडाउ ढङ्गले नियन्त्रण गर्न पनि सुरक्षा निकाय तथा अन्य प्रशासनिक निकायलाई निर्देशन दिएका छन्।

‘न त यहाँ गुण्डागर्दी चल्छ। न त यहाँ हप्ता गिरी चल्छ। न त प्रशासनकै चल्छ। न त अमुक मान्छेकै चल्छ। बस यहाँ केबल चल्छ त कानुनी राज र विधिको शासन मात्रै चल्छ।’ उनले भने।

प्रकाशित: २९ चैत्र २०८० २१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App