१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

भोट माग्न इलाम आए गगन, भन्छन्,‘गठबन्धनको राजनीति गलत’

चुनावी सभामा बोल्दै महामन्त्री थापा।

इलाम क्षेत्र-२ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मतदातासँग भोट माग्न नेपाली कांग्रेस महामन्त्री गगन थापा इलाम आएका छन्। थापा आज (बिहीबार) क्षेत्र-२ को आमचोक र शिकारीभञ्ज्याङमा आयोजित चुनावी सभामा सहभागी भए।

२०७९ सालको निर्वाचनमा नेकपा (माओवादी) लगायत दलसँग चुनावी गठबन्धन गरेको कांग्रेसका महामन्त्री थापाले गठबन्धनको राजनीति गलत भएको बताए। ‘निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धनमा मतदाता निरीह बन्नुपरेको छ,’ उनले एमाले–माओवादी गठबन्धनलाई लक्षित गर्दै भने, ‘एउटा पार्टीकाले अर्को पार्टीलाई मत हाल्नुपर्ने परिपाटी गलत छ।’

थापाले इलाम क्षेत्र-२ मा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई जिताउन आग्रह गरे। ‘स्थानीय स्तरमा भिजेको र परिस्थिति सम्हाल्न सक्ने युवा नेता डम्बर खड्कालाई जिताउन म सबैमा आग्रह गर्छु,’ उनले भने, ‘यहाँको विकास र समृद्धिका लागि खड्का योग्य उम्मेदवार हुनुहुन्छ।’

अर्को प्रसंगमा थापाले देशका ठूला विभिन्न काण्डमा मुछिएका सबै पार्टीका नेतालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। ‘संसद्मा अगाडि बढेको विषय कुनै आग्रह–पूर्वाग्रहले होइन,’ उनले भने, ‘ठूला काण्डमा मुछिएका जोसुकैले सजाय पाउनुपर्छ।’

चुनावी सभामा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, इलाम-२ का उम्मेदवार खड्का, महासमिति सदस्य भेषराज आचार्यलगायत सहभागी भए। वक्ताले कांग्रेस पहिचान बुझेको र भूगोलका मुद्दा अगाडि बढाउने पार्टी भएको दाबी गरे।

प्रकाशित: २९ चैत्र २०८० १७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App