१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद बैठक ११ बजे बस्दै, चल्ने सम्भावना न्यून

प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रश्नहरूको जवाफ दिनेछन्।

सांसदहरूले सोधेको प्रश्नमा आज उनको जवाफ दिने कार्यक्रम रहेको छ।

यस्तै आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्नेछन्।

सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन, २०८०’ पेश गर्नेछन् भने अर्थमन्त्री वर्षमान पुनले ‘बैँक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस्,’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायक सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने उद्योग मन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

तर, आजको बैठक चल्नेमा भने निश्चित छैन। कारण, यसअघि मङ्गलवार बसेको बैठक प्रतिपक्षी नेपाली काँग्रेसका कारण स्थगित गरिएको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने काँग्रेसको अडान छ।

प्रकाशित: २८ चैत्र २०८० ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App