१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन्।

भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे।

'भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ,' प्रधानमन्त्री दाहालले भने, 'स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ।'

उनले केही दशक अगाडि घना जङ्गल र झाडीहरूले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुहरूको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर अस्पताल निर्माण भएको स्मरण गरे।

यस क्षेत्रकै आम जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल–अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्यप्रारम्भ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको बताए।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग सेवामार्फत् नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, 'संरक्षित वनजङ्गल क्षेत्रमा पाइने हिंस्रक जीवजन्तुको टोकाइ र आक्रमण, बाढी, पहिरो, आगजनी तथा प्राकृतिक प्रकोप, सबैखाले दुर्घटना, डेङ्गु, इन्फ््ल्युञ्जा, क्षयरोग, कुष्ठरोगलगायत आदिबाट प्रभावित बिरामीहरूको रोग निदान, उपचार र नियन्त्रणका लागि आवश्यक उपचार र परामर्श लगायतका सेवालाई उच्च प्राथमिकता दिइरहेको छ।'

प्रकाशित: २५ चैत्र २०८० १८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App