२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशः विपक्षीलाई सरकार बनाउन बहालवाला मन्त्रीकै समर्थन

गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) लाई पिपलपाते चरित्र भएको भनेर आरोप लाग्दै आएको छ। अर्थात् उनी सत्ताका लागि जता पनि पल्टिन्छन् भन्ने आरोप छ।

यसअघि चारपटक मन्त्री भइसकेका मनाङे सत्ताका लागि जुनसुकै बेला ढलपल हुने पात्रका रुपमा चित्रित छन्। नभन्दै उनले यसपटक पनि सत्तामा रहेरै विपक्षीलाई समर्थन गरेर पिपलपाते चरित्रलाई पुष्टि गरेका छन्।  

सरकारमै रहेर विपक्षीलाई सरकार बनाउन उनले सहयोग गरेको यो पहिलो पटक होइन। यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमै रहेका बेला पनि कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन उनले हस्ताक्षर गरेका थिए।  

गुण्डा नाइकेको छवि बनाएका मनाङे सत्तामा जान जे पनि गर्छन्। चुनाव जित्न स्वतन्त्र बनेर चुनाव उनी जितेपछि भने मन्त्री बन्नका लागि पार्टी प्रवेश गर्दै आएका छन्। अघिल्लो सदनमा पनि चुनाव जितेपछि नेकपा प्रवेश गरेर मनाङे मन्त्री बनेका थिए। 

सत्ताको जोड घटाउमा निर्णायक बन्दै पटकपटक मन्त्री पद पड्काएका मनाङे यसपटकपनि सत्ता पक्षलाई चक्मा दिँदै विपक्षीलाई सघाउन पुगेका हुन्। यसको अन्तर्य उनी फेरी पनि सत्ताका लागि जुनसुकै हदसम्म गिर्न तयार देखिएका छन्।  

तर, उनी मध्यावधि रोक्नका लागि आफूले समर्थन जनाएको बताउने गरेका छन्। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारमा सहभागी भएका थिए। त्यतिबेला उनले भनेका थिए, ‘सत्ता गठबन्धनको यहाँ बहुमत पुग्दैन। मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउँछु भन्ने विश्वास दिलाएपछि सरकारमा सहभागी भएको हुँ।’ तर उनको भनाई एक महिना पनि टिकेन। र उनी आफै सत्तामा बसेर विपक्षीलाई सघाउन पुगेका छन्। 

उनलाई मान्छेहरुले पिपलपाते भने पनि उनी मन्त्री पद हत्याउन भने सफल हुँदै आएका छन्। अब बन्ने सरकारमापनि उनी मन्त्री बन्ने पक्का भइसकेको छ। त्यसैका लागि उनी सत्तामा रहेर पनि विपक्षीलाई समर्थन गर्न पुगेका हुन् भनेर सहजै अनुमान गर्न सकिन्छ।

प्रकाशित: २५ चैत्र २०८० १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App