२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा एमाले बारा अधिवेशनमा तनाव

मतदानको माग गर्दै जिल्ला नेतृत्वविरुद्ध उत्रिएका एमालेका प्रतिनिधि। तस्बिर : नागरिक

एमाले बाराको एघारौं जिल्ला अधिवेशनमा शुक्रबार दिउँसो मतदानस्थल कलैयाको जानकी सिनेमा हलमा तनाव भएको छ।

अध्यक्ष पदका उम्मेदवारहरूले अन्तिम समयमा आएर सहमति गरेर नयाँ कार्य समिति बनाउने बताएपछि मतदान गर्न आएका प्रतिनिधि मतदानको माग गर्दै होहल्लामा उत्रिएपछि निर्वाचन स्थलमा तनाव भएको हो।

आक्रोशमा उत्रिएका केही प्रतिनिधिले नयाँ कार्य समिति चुन्ने अधिकार खोस्न लागिएको भन्दै केही जिल्ला नेतृत्वको कठालो समातेर लछारपछारसमेत गरेको बताइएको छ।

प्रतिधिनिहरूको उग्र रुप देखेपछि एमाले बाराको नेतृत्वले मतदान गराउने कार्य सुरु गरेका छन्।

बाराका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले एमालेको मतदान स्थल रहेको जानकी सिनेमा हलमा मतदानको विषयमा  विवाद भएको तर अहिले अवस्था समान्य रहेको बताएका छन्।

निर्वाचन समितिले सूचना जारी गरी शुक्रबार बिहान ८ बजेदेखि मतदान तालिका तोकेको थियो। तर बेलुका ४ः३० बजेसम्म पनि मतदान गराउने सुरसार नदेखेपछि प्रतिनिधिहरू आक्रोशित भएका थिए।

प्रतिनिधिहरूले मतदान प्रक्रियाबाटै नयाँ कार्य समिति चुन्ने अडान लिएपछि बाध्य भएर बेलुका ५ बजेदेखि मतदान प्रक्रिया सुरु गरिएको एमाले जिल्ला अधिवेशनमा कोल्हवी नगरपालिकाबाट प्रतिनिधि बनेर आएको भरत भण्डारीले बताए।

नेकपा एमाले बाराको नयाँ अध्यक्षका लागि टिना सुवेदी र अध्यानन्द पाण्डेय प्रतिस्पर्धामा रहेका छन्। पाण्डे एमालेका पुराना कार्यकर्ताका रुपमा परिचित छन् भने सुवेदी नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा १ बाट निर्वाचन प्रनिनिधि सभा सदीय अच्युत मैनालीकी श्रीमती हुन्।

एमाले बाराको राजनीतिमा लामो समय योगदान गरेका  पाण्डेलाई पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सचिव मनोज पौडेल प्रदेश सांसद रविनदास श्रेष्ट, एमाले जिल्ला अध्यक्ष विनोद साहसहित प्रदेश तथा जिल्लाका एक दर्जन प्रभावशाली नेताहरूले साथ दिएको बताइएको छ।  

सुवेदीलाई जिल्ला अध्यक्ष बनाउन नेपाल सरकारकी कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह र सांसद मैनालीसहित दुईजना पोलिटब्युरो सदस्य लागिपरेका छन्।  

जिल्लाका १६ वटा पालिकाबाट करिब आठ सयजना प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन्। एमाले बारामा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ जना उपसचिवसहित १ सय २५ जनाको जिल्ला कमिटीका लागि मतदान हुने भएको हो।

प्रकाशित: २३ चैत्र २०८० १८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App