१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

जोगिएलान् लुम्बिनीका मुख्यमन्त्री ?: २२ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी २२ गते विश्वासको मत लिने भएका छन्। २२ गते संवैधानिक व्यवस्था अनुरूप मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने अन्तिम दिन हो। विश्वासको मत लिनका लागि सरकारले आगामी २२ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ।

राजनीतिक दलहरु बिच नयाँ समीकरण निर्माण भएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ। माओवादी, एमाले लगायतका दलहरुको गठबन्धन निर्माण भएपछि लुम्बिनी प्रदेशमा पनि सत्ता समीकरणलाई प्रभावित पारेको छ। 

माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री चौधरीलाई विश्वासको मत लिने संवैधानिक बाध्यता आइपरेको हो। २२ गते ८६ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्ने छन्। उनलाई विश्वासको स्पष्ट प्राप्त हुने की नहुने भन्ने आशंका छ। अहिले सरकारको समर्थनमा रहेका सबै दलहरुको साथ रहेको खण्डमा पनि मुख्यमन्त्री चौधरीले तटस्थ रहँदै आएको राप्रपाको मत अनिवार्य आफ्नो पक्षमा पार्नै पर्छ।

कांग्रेसका २७ सहित अहिले सरकारलाई समर्थन गरिरहेका सांसद संख्या ४१ छ। कांग्रेस सहित सरकारमा रहेको नागरिक उन्मुक्तिका ४, सरकारमै रहेका जनता समाजवादीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३,जनमत पार्टीका ३ र सरकारको समर्थनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद गरी मुख्यमन्त्रीका लागि ४१ मत कायम हुन्छ। तर बहुमत पुर्याउनका लागि ४४ मत आवश्यक पर्छ। यो अवस्थामा मुख्यमन्त्री चौधरीलाई थप ३ सांसदको मत आवश्यक पर्छ। यो तिन मत जुटाउन मुख्यमन्त्री चौधरीका लागि अन्तिम विकल्प भनेको राप्रपाको साथ हो।

राप्रपाका तीन सांसद छन्। राप्रपाका सांसदले विश्वासको मत दिए मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार जोगिने सम्भावना देखिन्छ। तर प्रदेश सरकारलाई समर्थन गरिरहेको जनता समाजवादी पार्टी केन्द्रमा भने वर्तमान माओवादी एमाले गठबन्धनमा सहभागी भैसकेको छ। तर प्रदेश सरकारमा यो दलबाट कृषि मन्त्री रहेका भण्डारीलाल अहिर सरकारबाट बाहिरिएका छैनन्। 

त्यसोत, प्रदेश तहको निर्णयको अधिकार पार्टीको प्रदेश तहलाई नै भएको भन्दै जसपाले सरकारको समर्थन कायमै राखिरहेको छ। फलतः जसपाले वर्तमान सरकारलाई नै विश्वासको मत दिने सम्भावना देखिन्छ। यो पार्टीका शीर्ष नेताहरुले पनि मन्त्री अहिरलाई अहिले सरकारबाट नबाहिरिन भनेको छ। २२ गते विश्वासको मत लिने दिन बिहान के गर्ने भनेर निर्देशन जारी हुने भन्दै शीर्ष नेताहरुले त्यो बेला सम्म सरकारबाट नबाहिरिन भनेको मन्त्री अहिरले बताए। ‘पार्टी केन्द्रले मलाई सरकारबाट बाहिरिन भनेको छैन, २२ गते बिहान मात्रै के गर्ने भनेर केन्द्रबाट सर्कुलेशन जारी हुने कुरा आएको छ,’ मन्त्री अहिरले भने ‘के गर्ने भनेर अब २२ गते बिहान नै थाहा होला।’

यसै गरी आन्तरिक विवादमा रहेको नागरिक उन्मुक्तिबाट पनि सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी पनि सरकारबाट बाहिरिएका छैनन्। यो पार्टीले पनि प्रदेशमा कसलाई समर्थन गर्ने भनेर पार्टीको प्रदेश तहले एजेण्डा बनाउने र सोही अनुसार नै समीकरण बारे धारणा बनाउने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई केही दिन अघि कैलालीमा बसेको केन्द्रीय समिति बैठकमा जानकारी गराइसकेको छ। 

फलतः यो पार्टी पनि सरकारबाट नबाहिरिएका कारण यो दलका ४ सांसदको मत मुख्यमन्त्री चौधरीले पाउने सम्भावना देखिन्छ । तर पार्टी अध्यक्ष रञ्जिताको निर्देशन कस्तो आउने भन्नेमा सांसदको मत निर्धारण हुने देखिन्छ। यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी, राष्ट्रिय जनमोर्चा केन्द्रीय राजनीतिक समीकरणमा समेत सामेल नभएका कारण यी दलको समर्थन मुख्यमन्त्रीलाई कायम रहने देखिन्छ।

यी दलहरुको मत आफ्नो पक्षमा कायम रहे मुख्यमन्त्री चौधरीलाई राप्रपालाई फकाउनै पर्छ। राप्रपालाई समर्थनमा ल्याउन सके सरकार जोगिने सम्भावना देखिन्छ। मुख्यमन्त्री स्रोतले राप्रपा विश्वासको मत दिन सकारात्मक बनेको बताउँछ। ‘विश्वासको मत जुटाउनका लागि अन्तिम विकल्प भनेकै राप्रपाको समर्थन हो,’ मुख्यमन्त्री स्रोतले भन्यो ‘राप्रपासंग छलफल भइरहेको पनि छ, राप्रपा विश्वासको मत दिने सवालमा सकारात्मक छ।’

यता वर्तमान सरकारलाई विश्वासको मत पुग्न नदिने गरी माओवादी, एमाले लागि परेका छन्। उनीहरूले केन्द्रीय राजनीतिक समीकरणमा सँगै रहेको तर प्रदेश तहमा अनिर्णीत जनता समाजवादी पार्टीलाई सरकारको समर्थनमा लाग्न नदिन पकाइरहेका छन्। जसपाको साथ खोस्न सके मुख्यमन्त्री चौधरी स्पष्ट अल्पमतमा पार्ने र प्रदेश सत्ता समीकरण सहजै फेरबदल गर्न सकिने दाउ एमाले, माओवादीले हेरिरहेका छन्। 

‘वर्तमान गठबन्धनमा केन्द्रमा सँगै रहेको जसपालाई प्रदेश तहमा पनि गठबन्धनमै सामेल गराउनु पर्छ भनेर लागेका छौँ,’ माओवादीका एक सांसदले भने ‘कांग्रेसले राप्रपालाई फकाए जस्तै हामीहरूले जसपालाई पकाइरहेका छौँ।’ तर एक मन्त्री सरकारमा पठाएको जसपा सरकारबाट फिर्ता नहुनुलाई ती सांसदले त्यति सहज भने मानिरहेका छैनन्। 

आगामी २२ गते विश्वासको मत माग्न थालेका मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाए दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार गठनका लागि आह्वान हुने छ। यो अवस्थामा एमाले र माओवादीलाई सरकार गठनका लागि बाटो खुल्ने छ। उनीहरूले बहुमत दाबी प्रस्तुत गर्दै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष माग गर्ने छन्। 

प्रकाशित: २० चैत्र २०८० १७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App