१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चक्रपथ निर्माणकर्ताले जनताको दुख देखेनन्, महानगरको बोर्ड भने देखे: मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले चक्रपथ निर्माणकर्ताले जनताहरूको दुख नदेखेर महानगरले राखेको बोर्ड भने देखेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले चक्रपथ निर्माणमा ढिलाई हुँदा जनताहरूले भोग्नुपरेको दुख निर्माण कम्पनीले नदेखेको तर महानगरले राखेको बोर्ड देखेको बताएका हुन्।

उनले लेखेका छन्, चक्रपथ सुधार आयोजनाको काम समयमै नसकिँदा जनताहरूले पाएको दुखको बारेमा महानगरले पटक पटक ध्यानाकर्षण गर्‍यो, सङ्घीय सांसदहरूले पनि पटक पटक कुरा उठाए तर कसैले कुरा सुनेको थिएन्। आवाज उठाउँदा पनि काम शंखेकीराको गतिमा चल्यो। त्यत्रो आवाज नसुन्ने र दुख नदेख्ने निर्माणकर्ताले ती १० फिट लामो र ५ फिट चौडा भएको बोर्ड चैँ देखेछन्।

काठमाडौं महानगरले कलङ्कीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएको महानगरमा जनगुनासो आएकाले सूचनापाटी राखेको थियो।

सूचनापाटीमा चक्रपथ आयोजना सुधारको काम आफ्नो कार्यक्षेत्रमा नपर्ने लेखेर महानगरले राखेको थियो।

महानगरले चक्रपथ सुधार आयोजनाको दोस्रो फेजको निर्माणको जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनी लेखिएको नोटिस बोर्ड चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दिएको थियो।

यता चैत २ गते काठमाडौं चक्रपथ सुधार आयोजनाले तीन दिनभित्र सडकमा राखेको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो। स्वीकृतिबिना सडक सीमाभित्र होर्डिङ बोर्ड राखिएको भेटिएको भन्दै उसले हटाउन भनेको थियो।

प्रकाशित: १४ चैत्र २०८० १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App