१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पुराना दलहरूले नगरेका कारण देश बनेन भन्ने भाष्य तयार गर्न खोजिँदै छ: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दलहरूले नगरेका कारण देश बनेन भन्ने भाष्य तयार गर्न खोजिएको भन्दै असन्तुष्टि जाहेर गरेका छन्।

नेकपा एमाले कास्कीको एघारौँ अधिवेशनको उद्घाटन सत्रलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले पुराना दलहरूले गरेनन् भन्दै नयाँ दलहरू स्थापित हुन खोजिरहेको बताएका हुन्।

यसले नेपाल प्रयोगशाला बन्ने खतरा रहेको औंल्याउँदै उनले भने, ‘विकास र समृद्धिका लागि बलिया राष्ट्रिय शक्ति आवश्यक छ। जतिबेला बलियो राष्ट्रिय शक्तिको आवश्यक हुन्छ, त्यतिबेला जनमत विभाजित भइरहेको छ। नयाँ-नयाँ शक्तिका नाममा, स्वतन्त्रका नाममा। अनेक नाममा जनमत विभाजित गर्ने। पार्टीलाई विभाजित गर्न खोज्ने प्रवृत्ति छ।’ 

उनले अमेरिकालगायत विश्वका शक्तिशाली राष्ट्रहरुमापनि पुरानै शक्तिले विकास र समृद्धि हासिल गरिरहेको उल्लेख गरे। त्यसैले नीतिको जगमा खडा भएका दलहरूले नै स्थायित्व प्रदान गर्ने उनको भनाई थियो।

महासचिव पोखरेलले जनता अहिले निराश रहेको बताए। आफूले मन पराएको शक्तिले शासन गर्न नपाएका कारण जनता निराश बनेको उनको भनाई छ। जनतामा निराशा छ, उनले भने, ‘निराशा नफैलियोस् किन ? जनतालाई जसले मन पराएका छन् उसले शासन गर्न पाउँदैन।’

उनले पुरानै गठबन्धन जारी रहँदा देश रसातमा भासिने भएपछि एमालेले त्याग गरेर नयाँ गठबन्धन बनाएको बताए। ‘प्रचण्डले रियलाईजेसन गरेपछि पुरानो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएका हौं।’

महासचिव पोखरेलले वर्तमान गठबन्धन वामपन्थी गठबन्धन नभएको बताए। ‘वामपन्थी गठबन्धनको सरकार हो भनेर परिभाषित गरेका छैनौं’, उनले भने, ‘समाजवादी मोर्चा बनाएर अहिल्यै जानुपर्छ भन्ने मान्यतामापनि छैनौं। मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक रुपमा मुलुकलाई लैजान र मिसन ८४ लाई सफल बनाउनपनि यो गठबन्धन बनेको उनको भनाई छ। उनले मिसन ८४ मुलुकको भविष्य निर्माण गर्ने संकल्प भएको बताए। उनले कांग्रेसले वामपन्थीमा फाटो ल्याएर आफ्नो भविष्य देख्ने काम गरिरहेको आरोपसमेत लगाए।

पार्टीका सचिव गोकर्ण विष्टले घुमाउरो भाषामा पार्टीमा गुट मौलाएको र त्यसको असर कार्यकर्तासम्म पुगेको बताए। उनले सरकारमा हुँदैमा भुईँ छाड्ने र सरकारमा नहुँदैमा आकाश खसेजस्तो नगर्न नेता कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘सरकारमा हुँदा रामराज्य र नहुँदा आकाश खसेजस्तो गर्ने प्रकारको अतिवाद हाम्रो पार्टीमा छ, यसबाट पार्टी पंक्ति मुक्त हुन जरुरी छ।’

उनले आर्थिक संकट र न्यून बजेट खर्च भएको चुनौतिपूर्ण घडीमा एमाले सरकारमा गएको बताए। ती चुनौती पार गर्न एमाले सक्षम र सबल हुनुपर्ने भन्दै उनले भने, ‘ती चुनौतीहरू पार गर्न सक्यौँ भने एमालेको जनमत थपिनेछ, नत्र घट्नेछ।’

पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अङ्क गणितका आधारमा सरकारमा बार्गेनिङ गरिरहेसम्म देशमा विकास र समृद्धि सम्भव नभएको बताए। त्यसको अन्त्यका लागि देश ध्रुवीकरणमा जानुपर्ने आवश्यकता उनले औंल्याए। ‘एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरेर देशमा ध्रुवीकरण गर्न जरुरी छ’, उनले भने, ‘एउटा एमालेको नेतृत्वमा वामपन्थी शक्ति र अर्को देशको माया भन्दा अरु कसैको छत्रछायामा चल्ने दक्षिणपन्थी शक्तिका रुपमा।’

सचिव अर्यालले एमालेमा गुटगत प्रवृत्ति देशैभर झांगिरहेको भन्दै यस अभ्यासले एमालेलाई गलत ठाउँमा पुर्‍याउने चेतावनी दिइन्। एमालेका नेता कार्यकर्ता भेट्दा पार्टीलाई बलियो बनाउने भन्दा अर्को नेता कार्यकर्ताको कुरा काट्ने प्रवृत्ति मौलाएको भन्दै उनले भनिन्, ‘नेतृत्वका लागि प्रतिष्पर्धा गर्छौं र हार्छौं, तर त्यसको बाछिटाले पछिसम्म हानिरहन्छ। नेतृत्वलाई खुइलाउने गलत प्रवृत्ति पार्टीमा हाबी छ। यसलाई छिटोभन्दा छिटो करेक्सन गर्न जरुरी छ।’

अर्यालले मिसन ८४ मार्फत कास्कीमा एमालेले गुमाएको दुई वटा प्रदेश सभा क्षेत्र फर्काउनुपर्ने बताइन्। मिसन ८४ त्यतिबेला सफल हुन्छ,उनले भनिन्, ‘जतिबेला पोखरा महानगरमा गुमेको एमालेको विरासत र प्रदेश सभामा गुमेको दुई सिट जित्न सफल भइन्छ।’

प्रकाशित: १० चैत्र २०८० १८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App