२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फुट्ला त डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा !

डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुट्ने निश्चित झैँ भएको छ। नेसपाका दुई अध्यक्षमध्ये महिन्द्र यादव माओवादी केन्द्रमा जाने भएका छन् भने भट्टराई नेसपामै रहने भएका छन्।

भट्टराईले यही चैत ४ गते कार्यकारिणी समितिको बैठक र ५ गते केन्द्रीय समितिको बैठक बोलाएका छन्। उक्त बैठक पार्टीको आधिकारिक बैठक नभएको भन्दै बैठकमा सहभागी नहुने घोषणा यादव पक्षले गरेको छ।

यता, बैठक स्थगित नहुने घोषणा भट्टराई पक्षले गरेको छ। भट्टराई पक्षका एक नेता भन्छन्, ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको योजनामा नेसपासँग एकीकरण गर्नु भन्दा पनि नेसपाका ४ जना सांसदलाई आफूतिर लैजान उपयुक्त ठानेका रहेछन्। त्यसैले यो सबै खेल भएको हो।’

अहिले नेसपामा ४ जना सांसद छन्। केन्द्रमा महिन्द्र यादव र उमरावती यादव सांसद छन् भने प्रदेश सभामा बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ र गण्डकी प्रदेशमा फनिन्द्र देवकोटा सांसद छन्। यी ४ जना सांसदलाई व्यक्तिगत रूपमा माओवादीमा लैजान कानुनी रूपमा समस्या छैन। किनभने यी चार जना सांसद गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी भएका थिए।

महिन्द्र यादव पक्षका नेता तथा नेसपाका महासचिव रमेश यादवले चैत ४ र ५गते बोलाएको बैठक पार्टीको आधिकारिक बैठक नभएको भन्दै उक्त बैठकमा सहभागी नहुने बताए। ‘उहाँ –बाबुराम भट्टराई०ले अझै पनि पार्टी भित्र एकता चाहनुहुन्छ भने ४ र ५गते को बैठक स्थगित गर्नु पर्छ। नभए पार्टीभित्र गम्भीर समस्या उत्पन्न हुन्छ’, यादवले भने, ‘हामी अझै पनि पार्टी नफुटोस् भन्ने चाहेका छौ। तर बैठक स्थगित नभए त्यसमा समस्या आउँछ।’

यता भट्टराई पक्षका नेता तथा कार्यालय प्रमुख रोशन पोखरेलले कुनै पनि अवस्थामा चैत ४ र ५ गते बोलाइएको बैठक स्थगित नहुने घोषणा गरेका छन्। ‘उहाँहरू (महेन्द्र यादव पक्ष) सँग सरसल्लाह गरेर बैठक बोलाइएको हो। उक्त बैठक कुनै पनि अवस्थामा स्थगित हुँदैन’, उनले भने।

माओवादी नेतृत्वको पछिल्लो गतिविधि र व्यवहारबाट माओवादी र नेसपाबीच पार्टी एकताको सम्भावना धेरै पर गइसकेको उनको भनाइ छ। यादव पक्षका नेता रमेश यादवले भने माओवादीसँग एकताको सम्भावना धेरै नजिक पुगिसकेको बताए। ‘माओवादीसँग एकता गर्न हामी धेरै अगाडि बढिसकेका छौ। दुवै पक्षले वार्ता समिति गठन गरेका छौ। धेरै पटक कुराकानी भइसकेको छ। अब एकता हुने निश्चित छ’, उनले भने।

गत वर्ष सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अघि नै माओवादी र नेसपाबीच एकता गर्ने समझदारी भएको थियो। यसका लागि दुवै पक्षले वार्ता समिति समेत गठन गरिसकेको छ।

तर पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेसपाका अध्यक्ष भट्टराईबिच सम्बन्ध बिग्रँदै गएको छ। यस कारण एकताको सम्भावना पनि टर्दै गएको हो। भट्टराईसँग निकट अर्का एक नेता भन्छन्, ‘माओवादी नेतृत्वको चाहना बाबुराम भट्टराई ज्युलाई नेसपामै राखेर अरू नेताहरूलाई आफ्नो पार्टी भित्र्याउने देखियो। त्यसैले अब माओवादीसँग एकताको अध्याय बन्द भइसक्यो।’ 

तत्कालीन जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद उत्पन्न भए पछि भट्टराई पक्षीय नेताहरूले २०७८ माघ १० गते समावेशी लोकतान्त्रिक पार्टी गठन गरेका थिए। २०७८ फागुन १० गते उक्त पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरिएको थियो तर २०७९असारमा लोकतान्त्रिक समाजवादी पार्टीको नाम परिवर्तन गरी नेसपा राख्ने घोषणा गरिएको थियो।

प्रकाशित: १ चैत्र २०८० १९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App